दशैंमा नेपाल आउलान् ३ नयाँ मोटरसाइकल

काठमाडौं । कोभिड १९ को कारण यस वर्षको ‘नाडा अटो शो २०२०’ आयोजना हुन सकेन । अटो शो भएको भए धेरै कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने थिए तर, अटो शो नहुँदा नयाँ मोटरसाइकल नेपाल आउन सकेन ।

अहिले हिरो, होन्डा र बजाजका एक एक मोडल नेपाल आउने क्रममा रहेका छन् । हिरो एक्सट्रीम १६० आर, होन्डा हर्नेट २.० र बजाज डोमिनार २५० अटो शो आयोजना भएको भए नेपाल आउन सक्ने मोडलमा थिए । अब यी मोडल कहिले नेपाल आउने छन् भन्ने धेरैको चासो रहेको छ ।

अहिलेसम्मको जानकारी अनुसार बजाज डोमिनार २५० दशैंअघि नै नेपालमा सार्वजनिक हुने छ । हुलास अटो क्राफ्टले नेपालमा नै एसेम्बल गर्ने बजाज डोमिनार हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

‘हामीले दशैंमा ग्राहकलाई डेलिभरी दिने तयारीका साथ डोमिनार बिक्री सुरु गर्दैछौं । अहिले यसका एसेम्बल किटहरु आउने प्रकृयामा रहेका छन् । संभवत कार्तिकको सुरुवातमा नै यसको बिक्री सुरु गछौं’, हंशराज हुलास चन्द एण्ड कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

त्यस्तै दशैंअघि आउनु पर्ने अर्को मोटरसाइकल हो ‘हिरो एक्सट्रीम १६० आर’ । तर, अहिले बजारमा बिक्री भइरहेका मोडलमा नै अपग्रेड गरिरहेको कम्पनीले एकिन मिति जानकारी दिएको छैन ।

‘एक्सट्रीम १६० आर नेपाल आउने तयारीमा छ । तर, दशैंअघि आइपुग्छ वा दशैंपछि त्यसको टुङ्गो लागेको छैन’, नेपाल जनरल मार्केटिङका चेयरम्यान अभिक ज्योतिले भने ।

ज्योतिका अनुसार एक्सट्रीम १६० आरभन्दा पहिला अर्को नयाँ अपग्रेडेड मोडल बजारमा आउने छ ।

अर्को प्रतिक्षित मोडलको रुपमा रहेको होन्डा हर्नेट २.० नेपाल आउने मोडल हो । तर, नेपालमा होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले यसको आधिकारीक जानकारी दिएको छैन । संभवत हर्नेट २.० तिहारपछि नेपाल आउने अनुमान गरिएको छ ।


Back_to_top