काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनी एनआईयूले अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रीक शो २०२० मा नयाँ दुई सवारीसाधन सार्वजनिक गरेको थियो । उक्त इलेक्ट्रीक सवारीको चर्चा अहिले चुलिएको छ । कम्पनीले ५जी सपोर्ट गर्ने प्रविधिमा यसलाई विकास गरेको जनाएको छ ।
कम्पनीले उक्त एक्स्पोमा एउटा तिन पाङ्ग्रे र एउटा दुई पाङ्ग्रे सवारी सार्वजनिक गरेको थियो । कम्पनीले ल्याएको टिक्यूआई–जीटी तिन पाङ्ग्रे सवारी हो भने आरक्यूआई–जीटी इलेक्ट्रीक मोटरसाइकल हो ।
कम्पनीले ल्याएको टिक्यूआई पहिलो सेल्फ ब्यालेन्सिङ इलेक्ट्रीक तीन पाङ्ग्रे साधन हो । यसलाई प्रतिघण्टा ८० किलोमिटरको उच्च गतिमा चलाउन सकिने जनाइएको छ । कम्पनीले यसलाई सहरी यातायातको रुपमा बिक्री गर्ने योजना बनाएको छ ।
कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक मोटरसाइकल पनि निकै पावरफुल रहेको छ । प्रतिघण्टा १६० किलोमिटरको गतिमा चलाउन सकिने यो मोटरसाइकल सिंगल चार्जमा १३० किलोमिटर गुडाउन सकिन्छ ।
५ जी सपोर्ट गर्ने प्रविधियुक्त यी सवारीसाधन स्मार्टफोनको सहयाताले बन्द गर्न, खोल्न र स्टाट गर्न सकिने किसिमको छ ।

