काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तोकिएका बाहेक स्थानमा सवारी साधन पार्किङ गरेको ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।
आर्थिक ऐन अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी साधन पार्किङ गरे मोटरसाइकल, स्कुटरले १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
त्यस्तै, कार, जीप, डेलिभरी भ्यान जस्ता चारपाँग्रे सवारी साधनले २ हजार ५०० रुपैयाँ, मिनीबस, मिनीट्रक लगायत मझौला सवारी साधनले ३ हजार ५०० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
त्यस्तै, बस, ट्रक जस्ता ठूला सवारी साधनले ५ हजार रुपैयाँ जरिवाना लाग्ने आर्थिक ऐनमा उल्लेख छ ।

