काठमाडौं । भारतीय बजारमा पेट्रोल तथा डिजेल कारको माग अहिले उच्च दरमा वृद्धि भइरहेको छ । यसका बाबजुद कुनैपनि ब्राण्डले नयाँ मोडलको तयारी गरिरहेका छैनन् ।
अहिले चल्तीमा रहेका मोडलको फेसलिफ् वा नयाँ जेनेरेशन मोडलमा काम गर्दै आएका अधिकांश ब्राण्डको लक्ष्य नयाँ मोडल ईभीमा देखिन्छ । भारतमा सर्वाधिक कार बिक्री गर्ने मारुती सुजुकीको योजनामा नयाँ मोडलभन्दा अहिले भएकै मोडलको फेसलिफ्ट वा नयाँ जेनेरेशन मोडल छ ।
सुजुकीले स्वीफ्ट, वागेनआर र एसक्रस मोडललाई नयाँ जेनेरेशनमा ल्याउने गरी काम गरिरहेको छ । साथै कम्पनीले दुई नयाँ ईभी मोडल ईभीएक्स र वागेनारको परिक्षण गरिरहेको छ । तर, कम्पनीको योजनामा नयाँ पेट्रोल भर्सन मात्रै ल्याउने तयारी देखिदैन ।
दोस्रो ठूलो कम्पनी हुन्डाईको पनि तत्काल पेट्रोलमा नयाँ मोडल देखिदैन । कम्पनीले पेट्रोल इन्जिनमा नयाँ जेनेरेशन भेन्यू र अल्काजार तथा फेसलिफ्ट क्रेटामा काम गरिरहेको छ । साथै, टुसान फेसलिफ्ट, शान्ता फे नयाँ जेनेरेशन मोडल ल्याउन लागेपनि ब्राण्ड न्यू मोडल भने छैन ।
तर, हुन्डाईले क्रेटा इलेक्ट्रीक, इलेक्ट्रीक ह्याचव्याक, आयोनीक-७, भेन्यूको साइजमा नयाँ इलेक्ट्रीक र अहिले रहेको एक्सटर साइजमा इलेक्ट्रीक मोडल ल्याउने योजना सार्वजनिक गरेको छ ।
भारतीय कार निर्माता टाटा र महिन्द्राको योजनामा पनि पेट्रोल इन्जिनमा मात्रै उपलब्ध हुने कारको नाम छैन । बरु अहिले पेट्रोल तथा डिजेलमा रहेका सबै मोडललाई इलेक्ट्रीक बनाउने योजना दुबै कम्पनीले अगाडि सारेका छन् ।
टाटाले एच५, कर्भ, पन्च जस्ता मोडललाई ईभीमा ल्याउँदैछ भने भविष्यमा सफारी र अभिन्या कन्सेप्टको इलेक्ट्रीक मोडल ल्याउने गरी काम गर्दै आएको छ ।
महिन्द्रासँग पनि एक्सयूभी सिरिजमा रहेको ७०० र ५०० तथा स्कर्पियोदेखि बोलेरोसम्म इलेक्ट्रीक बनाउने पाइपलाइन बाहिर आएको छ । आफ्नो लाइफस्टाइल प्रोडक्ट थारको समेत इलेक्ट्रीक मोडल ल्याउन महिन्द्राले काम गरिरहेको छ ।
यसका अलावा यूरोपियन र जापानी ब्राण्डले पनि पेट्रोल तथा डिजेलमा नयाँ मोडल घोषणा गरेका छैनन् । उनिहरु भएका मोडल अपग्रेड गर्ने र इलेक्ट्रीकमा पनि ल्याउने विषयमा केन्द्रित भएर लागेका छन् ।

