‘सेकेन्ड ह्यान्ड’ कार बेच्नै कठिन, मूल्य पनि घट्यो

काठमाडौं । ठूला कार चढ्नेको सपना बुनेका तर, धेरै रकम तिर्न नसक्नेहरूको चाहना सेकेन्ड ह्याण्ड मार्केटले पूरा गर्दै आएको थियो । तर, अचानक विगत दुई वर्षदेखि सेकेन्ड ह्यान्ड मार्केटमा ठूला गाडी बिक्री हुनै छाडेको छ ।

मुख्यतः आर्थिक मन्दीको कारण ठूला र महंगा रिकन्डिसन कारहरूको बिक्री हुन सकेको छैन । यसलाई बिक्रेताहरू पनि स्वीकार गर्छन् ।

विगत लामो समयदेखि रिकन्डिसन व्यापार गर्दै आएका काठमाडौं अटोमोबाइलका संचालक शैलेन्द्र श्रेष्ठ शोरुममा ग्राहकको भिजिट नै कम भएको बताउँछन् । उनी भन्छन्, ‘अहिले मानिसमा गाडी किन्ने कन्फिडेन्स नै देखिएको छैन ।’

ठूला गाडी आर्थिक मन्दीको चपेटामा परे पनि १५ लाखदेखि १ करोडसम्मका गाडी भने विद्युतीय कारप्रति बढ्दो आकर्षणले सक्काएको मानिन्छ ।

‘अहिले सबै विद्युतीय भनिरहेका छन् । अर्कोतिर आर्थिक मन्दी पनि चल्दैछ । त्यसले सेकेन्ड ह्यान्ड गाडीको बजार नै सुस्त बनाएको छ,’ श्रेया अटोमोबाइलका संचालक सचिन कुईँकेलले भने ।

उनका अनुसार अहिले २० लाखभन्दा माथि मूल्यका सेकेन्ड ह्याण्ड कार बिक्री गर्नै कठिन हुँदै गएको छ । २० लाख मूनिका कारभने फाट्टफुट्ट बिक्री भइरहेका छन् ।

घट्यो मूल्य

कोभिड १९ संक्रमणपछि जुन हिसाबले रिकन्डिसन कारको व्यापार वृद्धि भएको थियो, त्यसमा दुई वर्षदेखि ब्रेक लागेको छ । बजारमा बिक्रीमा चाप र किन्ने मानिस नहुँदा मूल्यमा पनि गिरावट आएको छ ।

‘तत्काल कै कुरा गर्ने हो भने पनि १५ देखि २० प्रतिशत मूल्य गिरावट आइसकेको छ । कम मूल्यका ईभी आयातसँगै साना कारमा पनि क्रेता छैनन् । त्यसैले मूल्य घटेको हो,’ विगत १५ वर्षदेखि व्यापार गर्दै आएका नाम उल्लेख गर्न नचाहने एक रिकन्डिसन व्यवसायीले भने ।

व्यक्तिले व्यक्तिलाई नै बिक्री गर्नै बजारमा पनि अहिले पहिले जस्तो मूल्य पाउन सकिने अवस्था छैन । त्यसो हुनुमा तत्काल पेट्रोल छाडेर इलेक्ट्रीकमा जानेहरूको संख्या धेरै हुनु मुख्य कारण रहेको छ ।

अहिल बजारमा पुरानो गाडी बिक्री गर्न चाहने सबैको योजना विद्युतीय गाडी किन्ने देखिएको छ । त्यसले पनि सानादेखि ठूला गाडी रिकन्डिसन हाउसमा थुप्रेका छन् ।


Back_to_top