काठमाडौं । आज (माघ १ गते)देखि सवारी साधन खरिद बिक्री गर्दा ५ लाख रुपैयाँसम्म मात्रै नगदमा भुक्तानी गर्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको कुनै पनि वस्तु खरिद बिक्री गर्दा नगद कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो ।
आजदेखि ५ लाख रुपैयाँ बढी मूल्यका सवारी साधन खरिद गर्दा चेक/अनलाइन मार्फत भुक्तानी गर्नुपर्ने भएको हो । यसअघि सवारी साधन खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद भुक्तानी गर्न पाइन्थ्यो ।
राष्ट्र बैंकको यसअघि नै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा कडाइका साथ रोक लगाउन निर्देशन दिइसकेको छ ।
‘बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरूको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्नेछ,’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ ।
तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीका लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिए त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न (बैंक तथा वित्तीय संस्थाले यस व्यवस्थाबमोजिम नगद भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्नेछ) पाइने राष्ट्र बैंकले जनाएको छ ।
मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५ लाख रुपैयाँभन्दा बढीको वस्तु खरिदबिक्री गर्दा बैंकिङ प्रणाली मार्फत मात्रै कारोबार गर्नुपर्ने निर्णय गरेको थियो । उक्त व्यवस्था पुस २४ गते राजपत्रमा प्रकाशित भएको थियो । सरकारले सम्पत्ति शुद्धीकरणमा सुधार ल्याउन नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गरेको हो ।
हाल नेपाली बजारमा उपलब्ध साना मोटरसाइकलरस्कुटर मात्रै ५ लाख रुपैयाँभन्दा कम मूल्यका छन् । बजारमा उपलब्ध ठूला मोटरसाइकलको मूल्य ५ लाख रुपैयाँ माथि रहेकाले अब त्यस्ता मोटरसाइकल खरिद गर्दा पनि चेक/अनलाइन मार्फत नै भुक्तानी गर्नुपर्नेछ ।
नयाँ चारपाँग्रे सवारीको मूल्य भने ५ लाख माथि रहेकाले नगदमा भुक्तानी गरेर खरिद गर्न सकिँदैन । यद्यपि, ५ लाख कमका पुराना सवारी भने नगदमै किन्न सकिन्छ ।

