सरकारले ६ महिनामा सडकको नाममा उठायो सवा ८ अर्ब कर

सांकेतिक तस्बिर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना (साउन-पुस)मा सडक निर्माण तथा मर्मत/सम्भार शीर्षकमा झण्डै सवा ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

सरकारले सडक मर्मत तथा सुधार दस्तुर र सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा गरी ६ महिनामा कुल ८ अर्ब १८ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार पुससम्म सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ राजस्व उठाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.५६ प्रतिशत धेरै हो ।

सरकारले चालु आवमा कुल १६ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर उठाउने लक्ष्य राखेको छ । ६ महिनामा वार्षिक लक्ष्यको ३३.३३ प्रतिशत प्रगति हासिल भएको हो ।

सरकारले सवारी नवीकरण र विभिन्न मालवस्तु आयात गर्दा सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा कर लिने गरेको छ । उक्त रकम सडक मर्मतमा खर्च हुन्छ ।

त्यस्तै, पुससम्म सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा २ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ राजव संकलन भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ४.७६ प्रतिशत हो ।

चालु आवको ६ महिनामा सरकारले सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा वार्षिक लक्ष्यको ४२.६६ प्रतिशत राजस्व उठाएको हो । सरकारले चालु ६ अर्ब २० करोड रुपैयाँ यस्तो कर उठाउने लक्ष्य राखेको छ ।

सरकारले सडक निर्माण तथा सम्भार दस्तुर पेट्रोलियम पद्धार्थ आयात र ठूला परियोजनाहरूमा लगाउँदै आएको छ । यसरी उठेको रकम मुख्यगरी नयाँ सडक तथा पूर्वाधारमा खर्च हुन्छ ।

यो बाहेक सरकारले पेट्रोलियम पद्धार्थ आयातमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको छ । चालु आवको ६ महिनामा पूर्वाधार करबापत ९ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ०.१५ प्रतिशत कम हो ।  चालु आवमा सरकारले ३० अर्ब ९१ करोड रुपैयाँ पूर्वाधार कर उठाउने लक्ष्य राखेको छ ।

सरकारले आर्थिक वर्ष २०७२/७३ बजेटमार्फत १२०० मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन)मा प्रतिलिटर ५ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको थियो । आव २०७७/७८ को बजेटमार्फत बढाउँदै प्रतिलिटर १० रुपैयाँ पुर्याइएको थियो ।


Back_to_top