बीपी राजमार्ग पुनर्निर्माण रफ्तारमा : डेढ महिनामै १३% प्रगति, वर्षाअघि ५०% सक्ने लक्ष्य

काठमाडौं । वि.सं. २०८१ र २०८२ असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणले रफ्तार लिएको छ । २ वर्ष भित्र सम्पन्न गर्ने गरी गत मंसिर पहिलो सातादेखि पुनर्निमार्ण थालिएको यस सडकको डेढ महिनामै १३ प्रतिशत प्रगति हासिल भएको हो ।

अधिकांश सडक तथा पुल निर्माण सुस्त रहेका बेला बीपी राजमार्ग पुनर्निर्माणले भने आशा जगाएको हो । बाढीपहिरोले काभ्रेको भकुण्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्मको ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । सोमध्ये २७.३ किमी सडक चार प्याकेज (काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १)मा ठेक्का लगाइ धमाधम काम भइरहेको हो ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर सीताराम बुढाथोकीले काभ्रेतर्फकका तीनै खण्डमा तीव्र गतिमा काम भइरहेको बताए । उनका अनुसार हाल बाढीले कटान गरेको ठाउँहरूमा आरसीसी रिटेनिङ वाल लगाउने काम रफ्तारमा भइरहेको हो । कटान गरेको ठाउँमा निकै बलियो आरसीसी वाल निर्माण गर्न लागिएको हो । ५ मिटर गहिराइसम्म माइक्रोपाइल राखी तलदेखि ‍फाउण्डेसन बनाएर काम भइरहेको उनले बताए ।

‘बीपी राजमार्ग पुनर्निर्माणले रफ्तार लिएको छ । मंसिरपहिलो सातादेखि काम सुरू गरिएको थियो । अहिले खोलाले कटान गरेका ठाउँहरूमा रिटेनिङ वाल लगाउने काम धमाधम भइरहको छ । समग्रमा भौतिक १३ प्रतिशत पुगेको छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार भकुन्डेबेँसी-चारसयबेँसी ११ किमी खण्डको भौतिक प्रगति १४ प्रतिशत पुगेको उनले बताए । यसखण्डको ठेक्का ठेक्का लामा-नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५२ लाख ९३ हजार २८७ रुपैयाँमा (भ्याटसहित) पाएको छ । यो खण्डको काम २ वर्ष (२०८४ असार १७ गते) भित्र सम्पन्न गर्नुपर्नेछ ।

त्यस्तै, चारसयबेंसी-डालाबेँसीसम्म ८.५ किमीको ठेक्का खानी-कमलजित-एवान जेभीले १ अर्ब ४२ करोड ३७ लाख ४८ हजार  ७५९ रुपैयाँमा पाएको छ । यस खण्डको भौतिक प्रगति १३ प्रतिशत पुगेको इन्जिनियर बुढाथोकीले जानकारी दिए । यो खण्ड २०८४ जेठ २८ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

काभ्रेतर्फकै पिप्ले (सुख्खापहिरो)-डालाबेँसी २.३ किमीको ठेक्का उमा एन्ड कम्पनी-भण्डारी-अमरज्योति जेभीले पाएको छ । २०८४ कात्तिक २६ गतेसम्म सम्पन्न गर्नुपर्ने यो खण्डको हालसम्म १० प्रतिशत काम सकिएको उनले बताए । यसखण्डको लागत ६८ करोड ८० लाख रुपैयाँ रहेको छ ।

कामदार र निर्माण सामग्री अभाव नरहेकाले आगामी दिनमा झन् गति लिने उनले बताए । काभ्रेतर्फ केही बिजुलीका खम्बा र जोखिमपूर्ण रुख हटाउन भने बाँकी रहेको उनको भनाइ छ ।

सिन्धुलीतर्फको बर्खेखोला-नेपालथोक ५ किमीको ठेक्का खरिढुंगा/घिसिङ/क्षितिज जेभीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको हो । यस खण्डको भौतिक प्रगति १५ प्रतिशत पुगेको सडक डिभिजन, खाल्टे (सिन्धुली)का सूचना अधिकारी (ई.) सुदर्शन उप्रेतीले जानकारी दिए ।

यसखण्डमा हाल मुख्यगरी रिटेनिङ वाल लगाउने काम भइरहेको उनले बताए । ‘सिन्धुलीतर्फको सडक एउटा ठेक्का लगाई पुनर्निमार्ण भइरहेको छ । हाल धमाधम आसीसी वाल लगाउने काम हुँदैछ । भौतिक प्रगति १५ प्रतिशत पुगेको छ,’ उनले मेरोअटोसँग भने ।यस खण्डको काम २०८४ जेठसम्म सम्पन्न हुनुपर्नेछ ।

बीपी राजमार्गलाई स्तरोन्नित गरी दुई लेन (शोल्डरसहित १० मिटर फराकिलो) बनाउन लागिएको हो । यो सडक सम्पन्न भएपछि सवारी साधन प्रतिघण्टा ६० किमीको स्पीडमा गुड्न सक्नेछन् ।

दैनिक १५०० बढी मजदुर परिचालन

राजमार्ग पुनर्निर्माणलाई गति दिन हाल चारै खण्डमा गरी दैनिक १५०० बढी जनशक्ति परिचालन गरिएको छ । काभ्रेतर्फको तीनखण्डमा करिब १३०० र सिन्धुलीतर्फ २०० बढी जनशक्ति परिचालन गरिएको इन्जिनियर बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, सडक निर्माणमा झण्डै १०० बढी उपकरण परिचालन गरिएको छ । काभ्रेतर्फ मात्रै २५ वटा एक्साभेटर, ५०-६० ट्रिपर, ३ लोडर, २ रोलर, आधादर्जन कारमेक्स परिचालन गरिएको उनले बताए । साथै, तीन ठाउँमा क्रसर प्लाण्ट संचालनमा ल्याइएको उनले बताए ।

‘कामलाई तीव्र बनाउन निर्माण कम्पनीहरूले दैनिक १३०० बढी जनशक्ति र झण्डै १०० निर्माण उपकरण परिचालन गरेका छन्,’ उनले भने ।

वर्षासम्म ५० प्रतिशत काम सक्ने लक्ष्य

आगामी वर्षायाम अघि नै ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको इन्जिनियर बुढाथोकीले बताए । उनका अनुसार बाढीले कटान गरेका ठाउँहरूमा वर्षायाम अघि पर्खा निर्माण गरिनसके सवारी साधन संचालन गर्ने स्थिति हुँदैन । त्यसैले बिहानदेखि बेलुकासम्म मजदुर खटाइ कामलाई तीव्रता दिइएको उनले बताए । करिब ५ किमी क्षेत्रमा पूरै सडक कटान गरेको छ । ठाउँ अनुसार ११ मिटरसम्म अग्लो पर्खाल निर्माण गरिने उनको भनाइ छ ।

‘हाल अस्थायी रूपमा खोला बगरबाटै सवारी संचालन गरिएको छ । वर्षायाम अघि नै सडक निर्माण नभए गाडी चलाउन सक्ने अवस्था हुँदैन । त्यसैले जसरी पनि बाढीले कटान गरेका ठाउँ जतिमा कम्तीमा ५/६ मिटर वाल लगाइ सक्नुपर्छ । असारअघि नै ५० प्रतिशत काम सक्ने लक्ष्य छ ।’ अहिलेकै गतिका कामलाई निरन्तरता दिँदा सहजै लक्ष्य भेटाउने उनको भनाइ छ ।

सिन्धुलीतर्फ पनि वर्षाअघि वाल लगाइ ‘ब्याक फिलिङ’ सक्ने लक्ष्य राखिएको सूचना अधिकारी उप्रेतीले बताए ।

बाँकीखण्डको ठेक्का चैत्र भित्र लगाइने

जापान सरकारले अनुदानमा निर्माण हुने बर्खोखोला-सुख्खापहिरो २.७ किमी सडकको ठेक्का लाग्न बाँकी छ । उक्त सडकको डीपीआर र ईआइए सम्पन्न भई हाल स्वीकृतिको चरणमा रहेको इन्जिनियर बुढाथोकीले बताए । उक्त खण्डको ठेक्का प्रक्रिया चैत भित्रै सुरू हुने उनले बताए ।

‘बर्खोखोला-सुख्खापहिरो २.७ किमी ठेक्का लागन बाँकी छ । हाल डीपीआर स्वीकृतिको चरणमा छ । स्वीकृति हुने बित्तिकै टेन्डर आह्वान गरिन्छ । चैत भित्र टेन्डर खुलिसक्छ,’ उनले भने । यो सडक निर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

बीपी राजमार्ग संघीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो सडक हो । यस सडक हुँदै दैनिक ५ हजार बढी सवारी साधन आवतजावत गर्छन् ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


Back_to_top