काठमाडौं । सन् २०१८ बाट नेपालमा विक्री सुरु भएको हुन्डाई कोना अहिले परिवर्तन गर्न चाहने ग्राहकले ४० लाख रुपैयाँ मूल्याङ्कन पाउने भएका छन् । तत्काललाई हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्सचेन्जमा उक्त मूल्य दिने घोषणा गरेको हो ।
विगत ५ वर्षदेखि नेपालमा विक्री वितरण हुँदै आएको कोना रिकन्डिसन बजारमा एक/दुई यूनिट आउन थालेसँगै कम्पनीले एक्सचेन्ज अफर प्रदान गरेको हो ।
‘हामीले विक्री सुरु गरेको झण्डै ५ वर्ष भएको छ । त्यसलाई परिवर्तन गर्न चाहने ग्राहकलाई ध्यानमा राख्दै हामीले एक्सचेन्ज सुविधा दिएका हौं । पुरानो कोना दिएर नयाँ कोना वा आयोनीक ५ मा अपग्रेड हुन चाहने ग्राहकलाई पुरानो कोनाको न्यूनतम मूल्य ४० लाख राखेका छौं’, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले मेरोअटोसँग भने ।
सन् २०१८ मा पहिलो पटक नेपाल आएको हुन्डाई कोना निकै राम्रो संख्यामा विक्री हुँदै आएको मोडल हो । निरन्तर एउटै रफ्तारमा ग्राहक पाइरहेको कोना क्रसओभर मोडल हो ।
हुन्डाई कोना अहिले पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ । कम्पनीले आफ्नो सफल इलेक्ट्रीक मोडलमा निकै राम्रो रिसेल भ्यालु आउने गरी बजारमा आएका गाडी किन्ने भएसँगै ईभी प्रयोगकर्ताको कन्फिडेन्ट बढ्ने देखिन्छ ।
यस्तो थियो पुरानो कोना
हुन्डाईले सुरुमा ३९.२ किलोवाट र ६४ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा कोना इलेक्ट्रीक विक्री गरेको थियो । तर, पछि कम्पनीले यसलाई ३९.२ किलोवाट आवरको ब्याट्रीमा मात्रै उपलब्ध गराएको थियो । अहिले पनि सानो ब्याट्रीमा मात्रै कोना उपलब्ध रहेको छ ।
सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कोनामा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसको मतलव कोनाको मोटरले १३४ पीएस पावर प्रदान गर्छ । यसको टर्क भने ३९५ एनएम रहेको छ ।
पूर्णतः डिजिटल क्लष्टर, हेडअप डिस्प्ले, ८ इन्चको इफोटेन्टमेन्ट सिस्टम, अगाडि भ्यान्टिलेटेड सिट र १७ इन्चको ह्वील पाउन सकिन्छ ।

