संसारकै सस्तो इलेक्ट्रीक कार फुलचार्जमा ४०० किमि चलाउन सकिने

ग्रेटवाल मोटर्सको ‘ओरा आर-१’ इलेक्ट्रीक कार दक्षिण एसियाली बजारमा बिक्री सुरु हुनु अघि अपग्रेड हुने भएको छ । कम्पनीले अटो एक्स्पो २०२० मा शोकेस गरेको यो इलेक्ट्रीक कारमा व्याट्री, पावर टर्कमा परिमार्जन गरेको हो ।

नयाँ व्याट्री प्याक सहित आउने नयाँ कार २०२० को जुलाईसम्ममा बजारमा आउने छ । चीनमा उत्पादन भएको याे कार संसारकै सस्तो मूल्यको इलेक्ट्रीक कार भएको कारण धेरै चर्चा पाउन सफल मोडल हो ।

अहिले बिक्री वितरण भइरहेको ओरा आर-१ ले ४७.५९ पीएस पावर प्रदान गर्छ भने १२५ एनएम टर्क प्रदान गर्ने छ । तर, नयाँ आउने ओरा आर-१ ले ६१.१८ पीएस पावर र १३० एनएम टर्क प्रदान गर्ने छ ।

यसअघि २८.५ किलोवाट आवरको व्याट्री प्याक रहेको ओरा आर-१ को नयाँ मोडलमा ३६ किलोवाट आवरको व्याट्री रहने छ । घरायसी बत्तिमा यसलाई एक पटक फुल चार्ज हुन ३.३ किलोवाटको एसी चार्जबाट ९ घण्टा लाग्ने छ भने डिसी फास्ट चार्जरबाट ४० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

व्याट्री प्याकमा परिवर्तनसँगै गाडीको रेञ्जपनि बढ्ने छ । अहिले यसमा उपलब्ध व्याट्रीले कारलाई ३०१ किलोमिटर गुडाउन सकिन्छ भने नयाँ मोडलको रेञ्ज ४०० किलोमिटर रहने जनाइएको छ ।

अटो एक्स्पो २०२० मा नेपालका धेरै कम्पनीहरुले यो कार नेपाल ल्याउन इच्छा देखाएका थिए । तर, त्यसलगत्तै विश्वभर फैलिएको कोरोना भाइरसको कारण अझै नेपालमा कुन व्यवसायीक घरानाले यो कार ल्याउछ भन्ने टुङ्गो लागि सकेको छैन ।


Back_to_top