सहर केन्द्रित सस्तो कार नेपाल आउने, ५ लाख डाउन पेमेन्टमा सकिएला किन्न

काठमाडौं । भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सको आधिकारीक वितरक पाउनु अघिदेखि चर्चामा रहेको ग्रेटवाल मोटर्स नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले नेपाल ल्याएको हावलका एसयूभी र ग्रेटवालको पीकअप अबको केही दिनमा नै विक्री सुरु हुँदैछ ।

काठमाडौंको थापाथलीमा शोरुम निर्माण गरेर कम्पनीले आफ्ना उत्पादन विक्री सुरु गर्ने तयारी गरेको हो । कम्पनीले हावल र ग्रेटवालको पीकअप नेपाल ल्याइसकेको छ । कम्पनीले एसयूभी र पीकअप नेपाल ल्याइसकेको भएपनि धेरै गाडी प्रेमीको चर्चामा भने ओरा आर १ इलेक्ट्रीक कार रहेको छ ।

ग्रेटवाल मोटर्सको उत्पादन इलेक्ट्रीक कार ओरा आर १ धेरै नेपालीले प्रतिक्षा गरेको मोडलमा पर्छ । त्यसमा पनि सरकारले बजेट मार्फत विद्युतीय कारमा लाग्दै आएको अन्तःशुल्क पुर्णरुपमा हटाएको छ भने भन्सारमा पनि भारी कटौती गरेको छ । त्यसैले ओरा आर १ कम मूल्यमा आउने अनुमान गरिएको छ ।

‘चीनमा भर्खरै राइट ह्याण्ड ड्राइभ गाडी उत्पादन गर्ने कामको सुरुवात भएको छ । त्यसैले यसलाई नेपाल ल्याउन केही थप समय लाग्छ । तर, यही २०२१ को अन्त्यसम्ममा नेपाल आउने छ’, भिजी इम्पेक्स स्रोतले भन्यो ।

संसारकै सस्तो इलेक्ट्रीक कारको रुपमा परिचित ओरा आर १ को मूल्य ६ हजार डलरभन्दा कम रहेको छ भने यसलाई कम्पनीले नेपाली बजारमा १८ देखि २० लाख भित्रै रहेर विक्री गर्ने अनुमान गरिएको छ । यसलाई नेपालमा ५ लाखभन्दा कम डाउन पेमेन्ट गरेर ग्राहकले खरिद गर्न सक्ने छन् ।

यसमा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । ३३ किलोवाट कै इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसलाई प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा कुदाउन सकिने छ । एक पटकको फुलचार्जमा ३५१ किलोमिटरको दुरीतय गर्ने कम्पनीले जनाएको छ ।

ओरा आर १ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।


Back_to_top