काठमाडौं । विद्युतीय एसयूभीमा एकपछि अर्को छनोट थपिँदै गएका छन् । खासगरी ४० लाखदेखि ६० लाख मूल्य पर्ने सेग्मेन्टमा धेरै एसयूभी आइरहेका हुन् ।
चेरी ग्रुप अन्तर्गतको ओमोडा ब्राण्डमा ई फाइभ प्रो अघिल्लो महिना नेपाली बजारमा बिक्री सुरू भयो । एसपीजी अटोमोबाइल कम्पनीले ५१ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरू गरेको ओमोडा ई फाइभ प्रो सीमित समयको लागि ४९ लाख ९९ हजार मूल्यमा उपलब्ध गराएको थियो ।
चीनको चर्चित कम्पनी ग्रेटवाल मोटर्सले पनि आफ्नो लाइनअपमा नयाँ विद्युतीय एसयूभीको बिक्री थालेको छ । भीजी इम्पेक्स आधिकारिक बिक्रेता रहेको ग्रेटवाल मोटर्सको ओरा फाइभ एसयूभी दुई भेरियन्टमा बिक्री थालिएको हो । जसको मूल्य ४६ लाख ९९ हजार र ५१ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरू भएको हो ।
एउटै मूल्य भएको ई फाइभ प्रो र ओरा फाइभको टप भेरियन्टको बीचमा हामीले यहाँ तुलना गरेका छौं ।
ब्याट्री र रेन्ज
ओमोडा ई फाइभमा ५०.७ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । हाम्रो टेस्ट ड्राइभमा पनि ई फाइभले नेपाली सडक अवस्थामा ३२० किलोमिटर माथि कै रेन्ज दिएको थियो ।

ओरा फाइभमा ५८.३ किलोवाट आवरको ब्याट्री छ । यो ब्याट्रीले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । यसलाई हामीले नेपाली सडकमा टेस्ट ड्राइभ गरेका छैनौं ।
डिजाइनमा फरक
ओमोडा ई फाइभ प्रो र ओरा फाइभलाई पहिलो नजरमै छुट्याउने पक्ष यसको डिजाइन हो । ओमोडा ई फाइभ प्रो कुप्पे-स्टाइल प्रोफाइल, बोल्ड फ्रन्ट फेसिया र एरोडायनामिक सिल्हुटका कारण अलि स्पोर्टी र फ्युचरिस्टिक देखिन्छ । यसको डिजाइन आधुनिक शहर केन्द्रित उपभोक्तालाई लक्षित गरिएको जस्तो लाग्छ ।
ओरा फाइभ भने परम्परागत कम्प्याक्ट एसयूभीभन्दा विल्कुलै फरक पहिचान बोकेर आएको छ । गोलाकार हेडलाइट, स्मूद बडी लाइन, सफा रियर प्रोफाइल र ‘क्याट फ्यामिली’ डिजाइनले यसलाई रेट्रो र फ्युचरिस्टिकको मिश्रण बनाएको छ । नेपाली बजारमा अहिले उपलब्ध ईभीहरूबीच यसको डिजाइन सबैभन्दा अलग देखिने मध्येको एक हो ।

यदि कुप्पे र शार्प लुक तपाईंको रोजाइमा पर्छ भने ओमोडा ई फाइभ प्रो आकर्षक विकल्प बन्न सक्छ । तर, भिडबाट छुट्टै देखिने चाहना छ भने रेट्रो डिजाइन भएको ओरा फाइभ बढी मन पर्न सक्छ ।
साइज र ग्राउण्ड क्लियरेन्स
ओमोडा ई फाइभमा १९१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । नेपाली सहर र राजमार्गका लागि यो ग्राउण्ड क्लियरेन्स पर्याप्त मान्न सकिन्छ । ओरा फाइभमा २०० एमएम ग्राउण्ड क्लियरेन्स दिइएको छ । यी दुईमा ओरा फाइभ ग्राउण्ड क्लियरेन्सका हिसाबले थप बलियो छ ।
ओरा फाइभको लम्बाइ ४,४७१ एमएम र ह्वीलबेस २,७२० एमएम छ । कम्प्याक्ट एसयूभी भए पनि पर्याप्त परिपक्व रोड प्रेजेन्स दिने गरी यसलाई बनाएको छ ।
लम्बाइमा इ फाइभ पनि उस्तै छ । यसको लम्बाइ ४४२४ एमएम र ह्वीलबेस २६३० एमएम छ ।
क्याबिन ‘प्रिमियम’ र ‘मोर्डन’बीच टक्कर
ओमोडा ई फाइभ प्रोले प्रिमियम अनुभवमा जोड दिएको छ । यसमा ड्राइभर मसाज सिट, ८ स्पिकर अडियो सिस्टम, १५.६ इन्च वाइड स्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले र इलेक्ट्रिक सनरूफ जस्ता फिचर छन् । यसको सेटअप हेर्दा ‘कम्फर्ट-फर्स्ट’ अप्रोच अपनाइएको बुझिन्छ ।

उता ओरा फाइभको क्याबिन बढी टेक फिचरलाई जोड दिइएको छ । यसमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्च फ्लोटिङ टचस्क्रीन, कफी ओएस इन्फोटेनमेन्ट, ठूलो प्यानोरामिक ग्लास रूफ पाउन सकिन्छ । लेआउट, स्क्रीन प्लेसमेन्ट र इन्टेरियर फिलका हिसाबले यो अलि ‘नयाँ पुस्ताको ईभी’ जस्तो देखिन्छ ।
यति मात्र होइन, ओरा फाइभमा ९ स्पिकर, भेन्टिलेटेड सिट, वेलकम सिट, स्पेयर टायर र हिडन रियर वाइपर जस्ता फिचर पनि छन्, जसले दैनिक प्रयोगमा यसको व्यवहारिकता बढाउँछ ।
दुवै एसयूभी ‘फिचर लोडेड’ श्रेणीमा पर्छन् । तर कुन फिचरलाई कसरी प्राथमिकता दिइएको छ भन्नेमा फरक छ ।
पावर
ओमोडा ई फाइभ प्रोमा ९९ किलोवाट मोटर छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ । ओरा फाइभमा १०० किलोवाट मोटर र २६० एनएम टर्क उपलब्ध छ । ओमोडा ई फाइभ प्रोको टर्क अलि बढी छ ।
निष्कर्ष
ओमोडा ई फाइभ प्रो र ओरा फाइभमध्ये कुन राम्रो भन्ने उत्तर सीधै दिन कठिन छ । किनकि दुवैको प्राथमिकता फरक छ ।

यदि, तपाईंको रोजाइ प्रिमियम इन्टेरियर, कम्फर्ट फिचर, मसाज सिट, ठूलो स्क्रीन र अलि अपमार्केट क्याबिन अनुभवतर्फ छ भने ओमोडा ई फाइभ प्रो बढी आकर्षक हुन सक्छ ।
होइन, लामो रेन्ज, उच्च ग्राउण्ड क्लियरेन्स, बढी व्यवहारिक फिचर र फरक डिजाइन खोजिरहनु भएको छ भने ओरा फाइभ छनोटमा पर्ने देखिन्छ ।
५० लाख वरपरको मूल्य भएका ईभीमा अब हुने प्रतिस्पर्धा केवल मोटर र ब्याट्रीमा मात्र सीमित छैन । डिजाइन, क्याबिन अनुभव, स्मार्ट फिचर र वास्तविक प्रयोगमा कसले बढी मूल्य दिन्छ भन्ने कुराले ग्राहकलाई निर्णयमा पुर्याउँछ ।


