ललितपुरको धोवीघाटमा साइकल गुडाउन मिल्ने आकाशे पुल निर्माण सुरू

सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर महानगरपालिकाले घोबीघाट (चक्रपथ)मा पैदलयात्री र साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आइतबार उक्त पुलको शिलान्यास गरेका हुन् ।

उक्त पुलले महानगरकाे वडा नं. ३ र ४ (दमकल सुन्दरीघाट मार्ग पूर्व र पश्चिम)जोड्ने छ । जसबाट रिङरोड वारपार गर्न सहज र सुरक्षित हुनेछ । उक्त पुलकाे लागत कुल ५ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेकाे छ ।

महानगर प्रमुख महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल रहेकाले आकाशेपुल निर्माण गर्न लागेको बताए । ‘यो ठाउँको सडक सुरक्षित छैन । यहाँ एक दर्जनभन्दा बढीको ज्यान गइसक्यो । दुर्घटना न्यूनीकरण र पैदलयात्रीको सुरक्षाका लागि आकाशे पुल निर्माण गर्न लागेका हौं,’ उनले भने ।

उनका अनुसार चक्रपथ वारपार हुने उक्त पुलमा ह्विलचेयर र साइकल चलाउन मिल्ने खालको ‘र्याम्प’ बनाइने छ ।

उनले महानगरले यसअघि पनि नख्खु खोलामा तीन वटा पुल निर्माण सम्पन्न भइसकेको जानकारी दिए । त्यस्तै, एकान्तकुना यातायात कार्यालय नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री, कुसुन्तीमा लिफ्ट र शौचालयसहितको अपांगमैत्री पुल निर्माण अन्तिम चरणमा पुगेको मेयर महर्जनले बताए ।


Back_to_top