नेपालमा भ्रष्टचारसँग जोडिएर आउने मित्शुवीसी पजेरो सधैँको लागि बन्द

काठमाडौं । मित्शुवीसीको चर्चित एसयूभी पजेरो सधैको लागि बन्द भएको छ । प्रजातन्त्र बहालीको ७ वर्ष नवित्दै सांसदलाई सुविधा दिने नाममा बहुचर्चित बनेको पजेरोका कारण अहिले पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोचित हुने गरेका छन् । यो काण्ड सहि थियो वा गलत भन्ने विषयमा हामीले यहाँ थप चर्चा गर्न लागेका छैनौं ।

सन् २००६ मा पछिल्लो पटक अपग्रेड भएको पजेरो त्यसपछि परिमार्जन भएको छैन । यसको उत्पादन अब बन्द हुने कम्पनीले घोषणा गरिसकेको छ । यस्तोमा सन् २०२२ मा अष्ट्रेलियाको लागि ८०० यूनिट पजेरोको स्पेशल एडिसन उत्पादनपछि यसको निर्माण हुने छैन ।

यी ८०० यूनिटमा कम्पनीले ३ भेरियन्ट उत्पादन गर्ने छ । जसमा जीएलएक्स, जीएलएस र एक्सीड भेरियन्ट हुने छन् । यी सबै भेरियन्ट त्यसपछि उत्पादन हुने छैनन् ।

कम्पनीले यो ८०० यूनिट पजेरो निकै प्रिमियम फिचर दिएर बनाउने जनाएको छ । यसमा सबै किसिमका अत्याधुनिक फिचरको प्रयोग हुनेछ । विन्ड स्कृनको बाहिरी भागमा क्रोम फिनिसिङ, इलेक्ट्रीक सनरुफ, १८ इन्चको अलोय ह्वील, लेदर सिट, स्टेरिङमा कन्ट्रोल बटम, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर यसमा पाउन सकिन्छ ।

हरेक किसिमका बाटोमा सहजै चलाउन सकिने ८०० यूनिट पजेरोमा ३.२ लिटर क्षमताको टर्बो चार्ज्ड, फोर सिलिण्डर डिजेल इन्जिन उपलब्ध हुनेछ । उक्त इन्जिनले १८९ हर्स पावर र ४४१ एनएम पीक टर्क प्रदान गर्छ । यसमा ५ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहने छ । यो एसयूभी फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहने छ ।

मित्शुवीसीले यसलाई ३९ वर्षदेखि उत्पादन गर्दै आएको थियो । अझैपनि कम्पनीले पजेरो स्पोर्टस् भने निरन्तर बनाउने छ ।


Back_to_top