नयाँ जेनेरेशन स्वीफ्टमा धेरै क्षमताको टर्बो इन्जिन रहने

काठमाडौं । जापानी अटोमोटीभ मिडिया रेस्पोन्स डट कमले नयाँ जेनेरेशन स्वीफ्टको तयारी भइरहेको रिपोर्ट प्रकाशन गरेको छ । मिडिया रोपोर्टको अनुसार नयाँ जेनेरेशन स्वीफ्ट सन् २०२२ को मध्यसम्ममा बजारमा आउने छ ।

सुजुकीको स्वीफ्ट ग्लोवल मोडल हो । यसलाई भारतमा पनि कम्पनीले उत्पादन गर्छ । हरेक वर्ष भारतमा सर्वाधिक विक्री हुने मोडलमा मारुती सुजुकी स्वीफ्ट पर्दै आएको छ ।

स्पोर्टस् डिजाइनमा उत्पादन हुने यो ह्याचव्याक कारको नयाँ जेनेरेशन ग्लोवल मोडलमा १.४ लिटर इनलाइन फोर सिलिण्डर टर्बो चार्ज्ड इन्जिन रहने छ । साथमा ४८ भोल्ट माइल्ड हाइब्रिड सिस्टम यसमा ग्राहकले पाउने छन् । तर, भारतमा उत्पादन हुने स्वीफ्टमा कस्तो इन्जिन रहने छ भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन । नेपाली बजारमा विक्री वितरण हुने स्वीफ्ट भारतमा उत्पादन भएर आउने हो ।

कारको इन्टेरियरमा पनि निकै ठूलो परिमार्जन पाउन सकिने अनुमान गरिएको छ । यसमा अहिलेको इन्फोटेन्टमेन्ट सिस्टम परिमार्जन गरेर नयाँ र ठूलो लगाउने अनुमान गर्न सकिन्छ भने इन्ट्रुमेन्ट क्लष्टरमा पनि परिमार्जन देख्न सकिने छ ।

स्पोर्टी ड्राइभिङ अनुभव प्रदान गर्न यसमा हाइ पर्फमेन्स ड्यूल सेन्सर ब्रेक, आरामदायी सिट, रिडिजाइन ड्यासबोर्ड यसमा रहने छ । यसको बाहिरी भागमा पनि परिमार्जन देख्न पाइने छ । अगाडिको भाग भि सेप्ड ग्रिलको प्रयोगले पहिलेको भन्दा निकै फरक र आकर्षक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top