अटो शोमा ४ ब्राण्डका पेट्रोल कारले ताने अवलोकनकर्ता

काठमाडौं । नाडा अटो शो २०२३ समापन भएको छ । भदौ २६ गतेबाट सुरु भएर ३१ गते सकिएको अटो शोमा विद्युतीय कारमा धेरै मानिसको आकर्षण देखियो । तर, यस पटक पेट्रोल कार चाहिँ सिमित मोडलको चर्चा बढी भयो ।

अटो शोमा सबैभन्दा धेरै खोजिएको पेट्रोल कारमा हुन्डाई, सुजुकी, महिन्द्रा र निसानका गाडी परे । हुन्डाईको क्रेटा र भेन्यू, सुजुकीको ब्रेजा र जिम्नी, महिन्द्रा स्कर्पियो क्लासिक र निसान म्याग्नाइटले सबैभन्दा राम्रो संख्यामा बुकिङ पाएका छन् ।

विशेषगरी एसयूभी सेग्मेन्टमा पेट्रोलियम पदार्थबाट चल्ने कार छनोट गर्ने ग्राहकले हुन्डाई क्रेटा, सुजुकी ब्रेजा, निसान म्यागनाइट जस्ता मोडल छनोट गरेका छन् । त्यसैगरी लाइफ स्टाइल प्रोडक्ट चाहिने मानिसले सुजुकी जिम्नी बुकिङ गर्दा अफरोडमा धेरै मानिस लिएर यात्रा गर्नेहरुको रोजाईमा महिन्द्रा स्कर्पियो परेको थियो ।

‘हामीले लक्ष्य लिएको जति नै बुकिङ हुन सकेन । तर, विगतको तुलनामा पेट्रोल कारको बजार केही घटेपनि ग्राहक नभएका होइनन्’, एक गाडी बिक्रेताले भने ।

अहिले विद्युतीय कारमा नयाँ नयाँ सेग्मेन्ट बनिरहेको छ । १३ लाखदेखि २५ लाख भित्रै थुप्रै ईभी छनोट उपलब्ध रहेको छ । त्यसैले यो नयाँ सेग्मेन्टमा धेरै मानिसले इलेक्ट्रीक कार बुकिङ गरेका हुन् ।

त्यसैगरी ह्याचव्याक सेग्मेन्टमा पनि ३५ देखि ४३ लाखसम्मका कार बजारमा उपलब्ध रहेका थिए । त्यसैले यो सेग्मेन्टमा पनि नयाँ आएका इलेक्ट्रीक ह्याचव्याकले स्थान लिएको ब्यवसायीहरु बताउँछन् ।

एसयूभीमा पेट्रोल

अटो शोमा ग्राहकले खोजेका सबै पेट्रोल कार राम्रो ग्राउन्ड क्लियरेन्स भएका मोडल हुन् । यी गाडीहरु हल्का अफरोडदेखि पूर्ण अफरोड बाटो सुहाउदो भएकै कारण मानिसले रोजेका हुन् ।

त्यसमा पनि धेरै मानिस बोकेर उकालो ओरालो बाटो धेरै प्रयोग गर्नु पर्नेलाई अझै ईभीले आत्मविश्वसा दिन नसकेको अबलोकनको क्रममा भेटिएका ग्राहकहरु बताउँछन् ।


Back_to_top