सहर र अफरोडको लागि भी-मोटोका दुई इलेक्ट्रीक बाइक

काठमाडौं । इलेक्ट्रीक सेग्मेन्टमा कम्यूटर स्कुटर र कम्यूटर मोटरसाइकलको उत्पादन बढ्दो छ । ग्राहकको माग बढ्न थालेसँगै उत्पादन बढेको कारण सडकमा इलेक्ट्रीक सवारीसाधनको संख्या दिनदिनै बढिरहेको छ ।

यस्तोमा विभिन्न इलेक्ट्रीक दुई पाङ्ग्रे निर्माता कम्पनीहरुले नयाँ-नयाँ उत्पादन ल्याउने क्रम जारी नै छ । इलेक्ट्रीक दुई पाङ्ग्रे अब कम्यूटर स्कुटरमा मात्र सिमित नभएर डर्ट मोटरसाइकलसम्म आइपुगेको छ ।

पछिल्लो समय धेरै ब्रान्डले इलेक्ट्रीक डर्ट बाइक बजारमा ल्याइरहेका छन् । योसँगै अष्ट्रेलिया र चीनमा हेडक्वाटर रहेको दुई पाङ्ग्रे इलेक्ट्रीक कम्पनी भी–मोटोले डर्ट मोटरसाइकल प्लेटफर्ममा दुई मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले दुई मोटरसाइकलको नाम ‘अन आर र अफ आर’ राखेको हो । यसलाई दिइएको नामले एउटा मोडल अनरोड र अर्को मोडल अफरोडका लागि उपयुक्त हुने जनाउँछ ।

कम्पनीले यी दुबै मोटरसाइकलको एल १ र एल ३ भर्सन सार्वजनिक गरेको हो । अनरोड आर एल-१ को टप स्पीड ४५ किलोमिटर प्रतिघन्टा र एल-३ भेरियन्टको टप स्पीड ९६ किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै, अफ रोड आरको टप स्पीड क्षमता ११० किलोमिटर प्रतिघन्टा रहेको छ ।

अनरोड आर मोटरसाइकल ३० डिग्री क्लाइम्व क्षमता रहेको छ भने अफरोड आरको १८ डिग्री क्लाइम्व क्षमता रहेको छ ।

यी दुबै मोटरसाइकलमा मिड ड्राइभ मोटर प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोटरले ११ हर्सपावर जेनेरेट गर्छ । यी मोटरसाइकलमा ३.४५ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

उक्त ब्याट्रीलाई ३.५ घन्टामा फुलचार्ज गर्न सकिन्छ । यी मोटरसाइकल एक पटक फुलचार्ज गरेर ६८ किलोमिटरदेखि १०४ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

इटालियन बजारमा सार्वजनिक भएको भी-मोटो इलेक्ट्रीक डर्ट मोटरसाइलको मूल्य ६ हजार ९९० यूरो तोकिएको छ ।


Back_to_top