काठमाडौं । सन् २०१९ पछि पहिलो पटक आयोजना भएको नाडा अटो शो हिजो समापन भएको छ । यस पटकको अटो शोमा होन्डाले आफ्नो चर्चित स्कुटर डिओ १२५ को बुकिङ खुल्ला गरेको थियो ।
अटो शोमा दुई पाङ्ग्रे सवारी साधनतर्फ सबैभन्दा धेरै बुकिङ हुने मध्येको एक मोडल होन्डा डिओ १२५ बन्न सफल भएको छ । कम्पनीले नयाँ डिओ २५० यूनिटभन्दा धेरै बुकिङ गरेको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङको भनाइ छ ।
‘हामीले अटो शोमा आफ्नो नयाँ मोडल देखाएका हौं । ग्राहकलाई नयाँ डिओको बारेमा जानकारी दिँदा उहाँहरुले बुकिङ पनि गर्नु भएको छ । अहिलेको बुकिङलाई राम्रो मान्न सकिन्छ’, कम्पनी स्रोतले भन्यो ।
अटो शोमा होन्डाले डिओ १२५ को बुकिङ २५० यूनिटभन्दा माथि रहेको जनाएको छ । भारतमा सार्वजनिक भएको १ महिना पश्चात् नै स्याकर ट्रेडिङले नाडा अटो शोमा होन्डा डिओ १२५ सार्वजनिक गरेको हो ।
होन्डाका अन्य मोडललाई छाडेर कम्पनीले अटो शोमा होन्डा डिओ १२५ मात्रै प्रर्दशनी गरेको थियो । कम्पनीले दुई भेरियन्टमा ल्याएको होन्डा डिओ १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र डिलक्स भेरियन्टको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।
यो स्कुटरले यामाहा रेजेड–आर १२५ र एनटर्क १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ स्कुटर
नयाँ होन्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बीएच पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।
डिओ १२५ मा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, डिओ १२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सुचना दिन्छ । यसका साथै, नयाँ डिओमा डिजिटल डिस्प्ले, ट्रिप मिटर, समय, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट कि, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।
कम्पनीले नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपीक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरु दिएको छ ।