काठमाडौं । विद्युतीय कारको बिक्री बढेसँगै पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री निकै घटेको थियो । करिब २२ देखि २५ प्रतिशत बजार हिस्सामा आइपुगेपछि पेट्रोलियम पदार्थबाट चल्ने कारको हिस्सा स्थिर बन्न पुगेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ५ हजार ४८० युनिट बिद्युतीय कार आयात हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात २ हजार ३६० युनिटमा सिमित भएको हो । चालु आवको छ महिनामा सबै मिलाएर ७ हजार ८४० युनिट कार आयात भएको छ ।
पुस महिनामा मात्रै विद्युतीय कार ७३५ युनिट आयात हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कार २६४ युनिट मात्रै आयात भएको भन्सार विभागले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।
पेट्रोलियम पदार्थबाट चल्ने कारहरु १००० सीसीदेखि १५०० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै आयात भएका छन् । ६ महिनाको अवधिमा १ हजार ५६० युनिट कार १५०० सीसीसम्मका छन् ।
एक हजार सीसीभन्दा कम क्षमताका २२९ युनिट कार आयात हुँदा अनएसेम्बल्ड गाडीको आयात १७८ युनिट भएको देखिन्छ । विभिन्न देशबाट ३३ युनिट प्लगइन हाइब्रिड कार पनि आयात भएका छन् ।

