पेट्रोलियम पदार्थ आयातबाट १८ अर्व राजस्व बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातबाट आर्थिक वर्ष २०७६/७७ मा ४८ अर्व ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७ अर्व ८२ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातबाट सरकारले ३० अर्ब ६५ करोड रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा कुल १ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ बारबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले प्रकाशन गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा २८ अर्ब ३६ करोड रुपैयाँ बारबरको पेट्रोल आयात भएको छ । साथै, १ अर्ब ७ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरि सबैभन्दा धेरै आयात भएको पेट्रोलियम पदार्थ डिजेल हो । एक वर्षको अवधिमा कुल ८७ अर्ब ३७ करोड रुपैयाँको डिजेल आयात भएको छ । यसरी कुल १ करोड ३३ लाख लिटर पेट्रोलियम पदार्थ एक वर्षमा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चैत ११ देखि असार १ गतेसम्म पूर्ण रुपमा कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेको भएपनि पेट्रोलियम पदार्थ आयात रकम भने बढेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा १ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । सो वर्ष २२ अर्ब ९४ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको थियो भने १ अर्ब ९ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको थियो ।

त्यस्तै, उक्त आवमा ७३ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको थियो, जुन आर्थिक वर्ष २०७६/७७ को तुलनामा १३ अर्व रुपैयाँले बढी हो ।

नेपालमा अम्लेखगञ्च, भैरहवा, विराटनगर, बीरगञ्ज, चारआली, धनगढी, जनकपुर, नेपालगञ्च, पोखरा र सुर्खेत नाकाबाट पेट्रोलियम पदार्थ भित्रिने गरेको छ ।


Back_to_top