काठमाडौं । नेपाल प्रहरी यात्रुलाई अनावश्यक दुःख हैरानी दिने विरुद्ध एक्सनमा उत्रिएको छ ।
प्रहरीले विगत लामो समयदेखि काठमाडौंका विभिन्न स्थानमा पैदल हिडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन थालेको हो ।
यसैक्रममा, बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरी टोलीले कलंकी र नयाँ बसपार्क क्षेत्रबाट यात्रुलाई दुःख दिने ६० जनालाई पक्राउ गरेको हो ।
उनीहरूले अनावश्यक हैरानी दिइरहेको गुनासो आएपछि नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा ट्याक्सी चालक, होटल संचालक, होटलमा कार्यरत कर्मचारी लगायत रहेका छन् ।
यसअघि प्रहरीले बल्खु, जडीबुटी, कोटेश्वर क्षेत्रबाट दर्जनौं व्यक्ति नियन्त्रणमा लिएको थियो ।


