काठमाडौं । आर्थिक वर्ष २०७९/८० हामीबाट विदा भइसकेको छ । गत आर्थिक वर्ष कार बजारको लागि निकै पिडादायक भयो । बजारमा देखिएको आर्थिक मन्दी र सहकारी लगायतका वित्तिय क्षेत्रमा देखिएको समस्याको कारण अटो क्षेत्रले अघिल्लो आर्थिक वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढीले ब्यवसाय गुमायो ।
तरलता संकट र मानिसको खर्च गर्ने क्षमतामा आएको राह्रसको कारण कार आयातकर्तामा पनि कुनै रौनक देखिएन । त्यसमा सरकारले गत आर्थिक वर्षको पुरै ६ महिना पेट्रोलियम पदार्थबाट चल्ने कार आयातमा प्रतिबन्ध लगाएपछि बिक्रेताहरु पनि अन्योलमा परे ।
केन्द्रिय बैंकले निजी प्रयोजनमा जाने गाडीमा जोखिमभार ७० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुगेसँगै थप पेट्रोल कारको बिक्रीमा कुनै रौनक बाँकी रहेन । त्यसमा बढ्दो पेट्रोलको मूल्यको कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडी किन्ने विषयमा धेरै मानिसले सोच्नै छाडेको जस्तो अवस्था देखियो ।
यी सबै घटना क्रममका बीचमा विद्युतीय सवारीसाधनको बिक्री र समाचार धेरै पढियो । यसले विद्युतीय कारमा धेरै आकर्षण रहेको पुष्टिसमेत गरेको देखिन्छ ।
६. नेटा भी
सिजी मोटरले नेपाल ल्याएको नेटा भी मेरोअटो डट कममा गत आर्थिक वर्षमा सबैभन्दा धेरै समाचार पढिएको मोडल हो । धेरै समाचार पढिने मोडलको सूचीमा छैटौं स्थानमा रहेको नेटा भीको हामीले करिब ३२ वटा समाचार लेखेका थियौं ।

बजारमा बिक्री सुरु अघिदेखि नै विभिन्न कोणबाट यसको मूल्यमाथि टिका टिप्पणी भएका थिए । बजारमा प्रबेश गरेदेखि नै चर्चा कमाएको नेटा भीले पछिल्लो दिनमा पोखरामा पिङ्क क्याव चलाउने निर्णय गर्दासम्म चर्चा कमाएको थियो ।
५. हुन्डाई आयोनक ५
मेरोअटोमा सर्वाधिक समाचार बढिएको मोडलमा आयोनीक ५ इलेक्ट्रीक क्रसओभर पाँचौं स्थानमा परेको छ । प्रिमियम फिचर भएको हुन्डाईको क्रसओभर बारे लेखिएको समाचार धेरैको रोजाईमा परेको थियो । हामीले एक वर्षमा करिब १३ वटा समाचार आयोनीक-५ सँग सम्बन्धीत प्रकाशित गरेका थियौं ।

सुरुमा नेपाल आउँदा ८१ लाख मूल्य रहेको आयोनीक ५ अघिल्लो बजेटबाट बढेर १ करोड १७ लाख पुगेको थियो । चालु आर्थिक वर्षको बजेटले कर घटाएपछि मूल्य पनि सबैभन्दा पहिला लक्ष्मी इन्टर कन्टिनेन्टलले घटाएको थियो । एकै पटक १४ लाख रुपैयाँले घटाउँदा यसको समाचार धेरै मानिसले पढेका थिए ।
४. टाटा नेक्सन ईभी
टाटाको सफल सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक मोडल गत आर्थिक वर्षको सबैभन्दा धेरै बिक्री भएको मोडल हो । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले झण्डै २ हजार यूनिट नेक्सन ईभी नेपाल आयात गरेर बिक्री गरेको थियो ।

हामीले यस बीचमा झण्डै दुई दर्जन समाचार नेक्सन ईभीको बारेमा लेखेका थियौं । साथै, नेक्सनकै म्याक्स मोडल पनि नेपाल आएको कारण यसको समाचारले धेरै प्राथमिकता पाएको थियो ।
३. टाटा टियागो ईभी
नेपाल नआएर पनि सर्वाधिक धेरै समाचार पढिएको कार टाटा टियागो ईभी हो । टियागो ईभी भारतमा देखाएदेखि अहिलेसम्म हामीले १६ वटा समाचार लेखेका छौं । यी सबै समाचारमा पाठकको विशेष रुची रहेको थियो ।

सिप्रदीले चाँडै नेपाल ल्याउने टियागो ईभी कम मूल्यमा आउने फ्यामली ह्याचव्याक भएको कारण यसमा धेरैको रुची र चासो भएको हो ।
२. एमजी जेडएस ईभी
पारामाउन्ट मोटर्सले नेपाल ल्याएको एमजी जेडएस नेपालको लागि नयाँ मोडल होइन । तर, सरकारको नीतिको कारण सधै उथलपुथल भएको मोडल भने जेडएस ईभी नै हो ।
जेडएस ईभी अघिल्लो आर्थिक वर्षको बजेटको कारण नेपाल नै आएनभन्दा हुन्छ । त्यसपछि कम्पनीले १०० किलोवाटभन्दा तलको मोटरमा ल्याउने प्रयास गरेसँगै समाचारहरु बन्न थाले । यस बीचमा हामीले झण्डै २२ वटा समाचार जेडएस ईभीसँग जोडिएर लेखेका छौं । यी सबै समाचारमा पाठकको रुची देखियो ।

कम्पनीले लङ रेन्ज मोडल, सर्ट रेन्जमा पनि दुई पृथक भेरियन्ट बनाएसँगै जेडएस ईभीको चर्चा भयो । त्यसमा पनि बैशाख र जेठ महिनामा ५०० यूनिट जेडएस ईभी ल्याएपछि थप चर्चा भयो । सँगै सरकारले कर बढाउँदा पनि केबल ५० हजार मूल्य बढाएर एमजीले ईभी सेग्मेन्टको ट्रेन्ड सेटरको रुपमा आफुलाई प्रस्तुत गरेको थियो ।
१. बीवाइडी एटो थ्री
आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक समाचार पढिएको मोडल बीवाइडी एटो थ्री हो । साइमेक्स इंकले सुरुमा १५० किलोवाट क्षमताको मोटर र ६० किलोवाट आवरको ब्याट्रीमा एटो थ्री ल्याएको थियो । अष्ट्रेलिया र सिंगापुरसँगै नेपालमा सार्वजनिक भएको कारण यसको चर्चा निकै भयो । गत आर्थिक वर्षमा हामीले २५ वटा समाचार एटो थ्रीसँग जोडिएका लेखेका थियौं ।

त्यसपछि कम्पनीले सरकारी नीति अनुसार १०० किलोवाट क्षमताको मोटरसम्मलाई कम कर लगाएको कारण त्यही साइजको मोटरमा एटो थ्री उपलब्ध भयो । एकै पटक ९० लाखमा बिक्री हुँदै आएको एटो थ्री ६५ लाख रुपैयाँमा आएपछि यसमा धेरैले चासो देखाए ।
अहिलेको बजेटले केही कर वृद्धि गरेसँगै बीवाइडीले एटो थ्री ५० किलोवाट आवरको ब्याट्रीमा पनि उपलब्ध गरायो । यसको मूल्य ५६ लाख रुपैयाँ तोकेसँगै यसलाई थप धेरैले नजिकबाट नियाल्न थाले । त्यसैले गत आर्थिक वर्षमा सबैभन्दा धेरै न्यूज पढिएको मोडल बन्यो एटो थ्री ।

