काठमाडौं । एमजीले भारतीय बजारमा ‘अर्वान फन ट्रेन्डी’ एसयूभीको अवधारणामा नयाँ माइक्रो इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने सानो एसयूभीको पेटेन्ट भारतमा दर्ता गरेको हो ।
स्टाइल र फिचरको मिश्रण हुने मिनी ईभी एसएआईसी ग्रुपकै बाओजुन कम्पनीले चीनमा उत्पादन र बिक्री गर्दै आएको छ । ‘बाओजुन येप’ इलेक्ट्रीक एसयूभीको तस्बिरसँग मिल्दो जुल्दो पेटेन्ट दर्ता गरेको हो ।
एमजीले यसअघि भारतमा उत्पादन गरेको कोमेट पनि विलिङ एयर मिनी ईभीबाट प्रेरित रहेको थियो । विलिङ मिनीमा पनि एसएआईसीको लगानी छ ।
सानो साइज भएको यस गाडीमा दुई वटा मात्रै ढोका रहने छन् । तर, यसमा ४ जनाले सहजै यात्रा भने गर्न सक्ने कम्पनीको भनाइ छ ।
यो एक अल्ट्रा कम्प्याक्ट ईभी हो । यसमा दिइएको अफ रोड बम्पर, बुल्जेड ह्वील आर्च, रुफरेल, बडी क्ल्याडीङ लगायतले मिनी गाडीलाई जस्तोसुकै खराव बाटोमा पनि चलाउन सकिएला जस्तो देखाएको छ ।
यसको लम्बाई ३३८१ एमएम, चौडाई १६८५ एमएम र उचाई १७२१ एमएम रहेको छ । यसमा ह्विलबेस भने २११० एमएम रहने छ । कम्पनीले यसमा ५० किलोवाटको सिंगल मोटर दिएको छ ।
बाओजुन येप ईभीलाई १०० किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिन्छ । सीएलटीसीका अनुसार यसको अधिकतम रेन्ज भने ३०३ किलोमिटर हुनेछ ।

