काठमाडौं । नेपालमा गाडी विक्री गर्ने धेरै कम्पनीले आफ्नो ब्राण्डलाई प्रिमियम भनेर वर्गिकरण गरेको सुन्न पाइन्छ । तर, कार ब्राण्डलाई गरिएको रेटिङ अनुसार नेपालमा तीन ब्राण्डले उत्पादन गरेको प्रिमियम कार उपलब्ध रहेका छन् ।
विश्व बजारमा टप अफ दी लाइन भनेर मेब्याक, बेन्ट्ले, फेरारी, एस्टन मार्टिन, रोल्स रोयस, बुगाटी, म्याक्लेरेन जस्ता ब्राण्डलाई चिन्ने गरिन्छ ।
त्यसैगरी लग्जरी कार उत्पादन गर्ने कम्पनी मासेराती र पोस्र्चे पर्छन् । त्यसपछि आउने प्रिमियम ब्राण्डमा बीएमडब्लू, अउडी, एकुरा, मर्सिडिज, लिङकन, लेक्सस, इन्फीनिटी, भोल्भो, ज्यागुअर, ल्याण्डरोभर, जिनिसस् जस्ता ब्राण्ड रहेका छन् ।
यी टप अफ दी लाइन र लग्जरी ब्राण्डमा रहेका कुनैपनि कार नेपालमा विक्री वितरण हुँदैनन् । प्रिमियम ब्राण्डमा भने बीएमडब्लू, मर्सिडिज बेञ्ज र लेक्ससका कारहरु नेपालमा किन्न पाइन्छ ।

लक्ष्मी प्रिमियमले नेपालमा विक्री गर्ने बीएमडब्लूका कार २ करोडदेखि ६ करोड मूल्यसम्मका विभिन्न मोडल उपलब्ध छन् । कम्पनीले विक्री गर्ने अधिकांश मोडल प्लगइन हाइब्रिड कार हुन् ।

त्यसैगरी किशोर गियरले नेपालमा विक्री गर्दै आएको मर्सिडिजका कारहरु निकै चर्चित छन् । यी कारहरु १ करोड ९० लाखदेखि ४ करोड मूल्यमा किन्न पाइन्छ ।

लेक्ससको विक्री टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गर्दै आएको छ । लेक्सस टोयोटाको प्रिमियम ब्राण्ड हो । लेक्ससका कारहरु ४ देखि ६ करोड मूल्यमा खरिद गर्न सकिन्छ ।
यी तीन मध्ये शोरुम लगायतका आवश्यक सबै पूर्वाधार तयार गरेर बीएमडब्लूले कार विक्री गर्दै आएको छ भने मर्सिडिज र लेक्ससले अर्डर अनुसार गाडी ल्याउने गरेका छन् ।

