नयाँ एड्भेन्चर मोटरसाइकलको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । नयाँ एड्भेन्चर मोटरसाइकलको बुकिङ खुल्ला भएको छ । बेनेलीको आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले ‘टिआरके २५१’ को बुकिङ खुल्ला गरेको हो ।

बेनेलीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल टिआरके २५१ मा २४९ सीसी क्षमताको फोर स्टोक सिंगल सिलिण्डर, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९२५० आरपीएममा २५.८ पीएस पावर र ८००० आरपीएममा २१.१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध रहने छ ।

विशेषत लामो यात्राको लागि उपयुक्त रहेको यो मोटरसाइकलमा १८ लिटर क्षमताको इन्धन ट्याङ्क र २०० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यात्राको सहजताको लागि टिआरके २५१ मा अगाडि ४१ एमएमको अपसाइड डाउन फर्क र पछाडि शक एब्जर्वर सहितको स्वीङआर्म सस्पेन्सन दिइएको छ ।

टिआरके २५१ मा अगाडि र पछाडि समान १७ इन्चको अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर उपलब्ध छन् ।

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले ‘टिआरके २५१’ को मूल्य ८ लाख २५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले जनवरीबाट यसको विक्री सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।


Back_to_top