काठमाडौं । नेपालमा अहिले करिब दुई दर्जन बढी ब्राण्डका मोटरसाइकल विक्री हुँदै आएका छन् । भारत, चीन, जापान, यूरोप र अमेरिकी ब्राण्डले उत्पादन गरेका मोटरसाइकल नेपालमा किन्न पाइन्छ ।
धेरै ग्राहकले राम्रो रिसेल पाइन्छ वा पाईदैन भन्ने विषयमा सोधपुछ गर्ने गरेका छन् । तर, उनिहरुले सोध्ने कम्पनीको मानिसलाई नै हो ।
विक्रेतालाई नै यी प्रश्न गर्दा सहि उत्तर आउँछ भन्ने हुँदैन । त्यसैले मोटरसाइकल किन्ने मानिसले नै केही विषय जानकारी राखेको खण्डमा रिसेल मूल्यको विषयमा कसैलाई सोध्नु नै पर्दैन ।
अहिले विशेषत साना र मझौला मोटरसाइकल किन्नेहरुमा रिसेलको चिन्ता रहेको पाइन्छ । तर, महंगा र विश्व चर्चित ब्राण्डका मोटरसाइकल किन्ने मानिसलाई त्यसको विषयमा केही चिन्ता रहेको पाईदैन । त्यसैले यदि तपाई मोटरसाइको रिसेल मूल्य जान्न चाहनु हुन्छ भने निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ ।
१. धेरै विक्री भएको मोडलः तपाईले छनोट गर्नु भएको मोडल बजारमा अत्याधिक माग रहेको मोडल हो भने तपाईले ढुक्कसँग त्यो मोटरसाइकल किन्दा हुन्छ । बजार मागले नै त्यसको मूल्य निर्धारण हुने हो ।
तपाईले किन्न खोजेको मोडल औषतमा विक्री हुन्छ भने त्यही किसिमको रिसेल मूल्य हुन्छ भने कम विक्री हुने मोडल पछि विक्री गर्न पनि कठिन हुन्छ । यो विषय तपाईले बुझ्नु भएको खण्डमा यसको रिसेल मूल्य कति आउँछ भनेर कसैलाई सोध्नै पर्दैन ।
२. ब्राण्ड र उत्पादकः रिसेल मूल्यलाई कम्पनीको ब्राण्ड नेम र कुन देशको उत्पादन हो भन्ने विषयले पनि धेरै महत्व राख्छ । विशेषत जापानी र भारतीय ब्राण्डले नेपाली बजारमा राम्रो रिसेल पाउने गरेका छन् ।
३. सर्भिस नेटवर्क र पार्टस् उपलब्धताः कुनै पनि सवारी साधन किनेपछिको सेवा महत्वपूर्ण हुन्छ । उसले नेपालको कुनै पनि भूभागमा पुग्दा त्यहाँ आफ्नो साधनलाई सर्भिस आवस्यकता पर्दा पाउने इच्छा राख्नु स्वभाविक हो । तर, नेपालको भौगोलिक विकटताले त्यो सम्भव नभएपनि मुख्य क्षेत्रमा भने सर्भिस र पार्टस्को उपलब्ध भएको हुनु पर्छ ।
विक्रीपछिको सेवामा केन्द्रित रहेका प्रायः सबै कम्पनीले अहिले नेपालमा राम्रो रिसेल मूल्य पाउने गरेका छन् । बजाज, होन्डा, यामाहा, टीभीएस र हिरोका उत्पादन तुलनात्मकरुपमा धेरै रिसेल मूल्य पाउन सकिने ब्राण्ड हुन् ।
४. ब्राण्डिङः रिसेल मूल्यलाई ब्राण्डिङले पनि धेरै फरक पर्छ । यो विषयलाई अहिले चल्तीका ब्राण्डको रिसेल मूल्यले पनि पुष्टि गरेको छ । जुन कम्पनीले ब्राण्डिङमा धेरै खर्च गरेका छन्, ति कम्पनीको रिसेल मूल्य राम्रो रहँदै आएको छ ।


