समान मोटर पावर भएका दुई एसयूभी, कुन खरिद गर्दा राम्रो ?

काठमाडौं । चीनको स्टार्टअप कम्पनी लीपमोटरको सी-१० नेपालमा सफलताको स्वाद चाख्न सुरू गरेको मोडल हो । युरोपियन अटोमोवाइल ग्रुप स्टेलान्टीसको प्रवेशसँगै तीव्र बजारमा विस्तारमा रहेको लीपमोटर बजारमा बलियोसँग स्थापित हुन खोज्दैछ ।

त्यस्तै, नेपाली बजारमा आगामी महिनाबाट बिक्री सुरू हुने प्रोटोन इमास-७ को सफ्ट लन्च भइसकेको छ । अहिले दुई युनिट गाडी नेपालका हाइवेमा दौडिरहेको इमास-७ मार्च २१ बाट बिक्री सुरू हुनेछ ।

चीनमा जिली मोटर्सले ग्यालेक्सी ई-५को नाममा बिक्री गरिरहेको यो एसयूभी नेपालमा भने प्रोटोनको व्याचमा आएको छ । विशेषतः लेटेस्ट डिजाइनको एजिज सर्ट ब्लेड ब्याट्री रहेकाले यसलाई सुरक्षीत र धेरै माइलेज दिने ईभीको रूपमा हेरिएको छ ।

सी-१० र इमास-७को समान पक्ष भनेको दुवैमा १६० किलोवाटको मोटर रहनु हो । समान पावरको ईभी भएता पनि लीपमोटर सी-१० रियर ह्वील ड्राइभमा छ भने प्रोटोन इमास-७ फ्रन्ट ह्वील ड्राइभमा आउने छ । साइज पनि लगभग बराबर रहेका यी दुई इलेक्ट्रीक एसयूभी बीच अन्य कुरा तुलना गरेर हेरौन त ।

साइज

लीपमोटरको सी-१० एसयूभी हेर्दा नै निकै ठूलो लाग्छ । बल्की डिजाइनको एसयूभीको लम्बाइ ४७३९ एमएम, चौडाइ १९०० एमएम र उचाइ १६८० एमएम छ । यसमा २८२५ एमएम लामो ह्वीलबेस र १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण आरामदायी र ढुक्कसँग चलाउन सकिने किसिमको छ ।

लीपमोटरले ४३५ लिटरको बुट स्पेश दिएको सी-१० मा २० इन्चको ह्वील दिइएको छ ।

त्यसैगरी, प्रोटोन इमास-७ को लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम, उचाइ १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस र १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । इमास-७ मा ४६१ लिटरको बुटस्पेश र १९ इन्चको ह्वील छ ।

यी दुई गाडीमा लीपमोटर सी-१० प्रोटोन इमास-७ भन्दा १३४ एमएम लामो, १० एमएम अग्लो र ७५ एमएम लामो ह्वीलबेस भएको मोडल हो । प्रोटोन इमास-७ मा सी-१० भन्दा १ एमएम बढी चौडा र २६ लिटर धेरै लगेज स्पेश भएको एसयूभी हो ।

मोटर र ब्याट्री साइज

दुवै एसयूभीमा समान १६० किलोवाटको मोटर छ । टर्क पनि दुवै मोडलको समान ३२० न्यूटन मिटर छ । स्पीडको मामलामा इमास-७ केही अगाडि छ । इमासलाई शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउन ७.१ सेकेण्ड लाग्छ । जबकी सी-१० लाई ७.५ सेकेन्ड लाग्छ ।

टप स्पीडको मामलामा पनि इमास-७ केही अगाडि छ । इमास-७ को टप स्पीड १७५ किलोमिटर प्रतिघण्टा छ । जबकी सी-१० को टप स्पीड १७० किलोमिटर प्रतिघण्टा छ ।

ब्याट्री साइजको आधारमा लीप सी-१० अगाडि छ । एउटा मात्रै ब्याट्री अप्सनमा उपलब्ध सी-१० मा ६९.९ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । यसले एक पटकको फुलचार्जमा ४२० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । यसलाई ८४ किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्दा ३० मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै प्रोटोन इमास-७को प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको लेटेस्ट डिजाइनको एजिज सर्ट ब्लेड ब्याट्री छ । सानोमा ४९ किलोवाटको ब्याट्री पाउन सकिन्छ । यसको ठूलो ब्याट्रीले १०० किलोवाटको डीसी फास्ट चार्जरले २० मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । हाइडेन्सिटी ब्लेड ब्याट्रीले एकपटकको फुलचार्जमा ४१० किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

क्याबिन फिचर

लीपमोटरको सी-१० एसयूभीमा १४.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, दुईवटा वायरलेस फोन चार्जर, ड्युलजोन एसी, १२ वटा हाइ क्वालिटी स्पीकर सहितको साउण्ड सिस्टम दिएको छ । साथै, म्युजिक रिदम एम्बियन्ट लाइट, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर सिट, हिटेड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, मेमोरी ड्राइभर सिट, पावर टेलगेट, फ्लस डोर ह्याण्डल पाउन सकिन्छ ।

त्यस्तै, प्रोटोन इमास-७ मा १५.४ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, हेडअप डिस्प्ले, पानारोमिक सनरुफ, वायरलेस फोन चार्जर, मल्टिफङ्सनल एन्टिब्याक्टेरियल स्टेरिङ ह्वील दिएको छ ।

अटोमेटिक एयर कन्डिसन, पावर टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट एण्ड सिक्स वे इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट, फोर वे इलेक्ट्रीक एड्जस्टेवल फ्रन्ट प्यासेन्जर सिट, २५६ कलरको एम्बियन्ट लाइट पाउन सकिन्छ । स्पीकर सहितको ड्राइभर हेडरेस्ट, फ्लस डोर ह्याण्डल, टुस्पोक मल्टिफङ्सनल स्टेरिङ ह्वील, १६ स्पीकर सहितको साउण्ड सिस्टम, भीटुएल र भीटुभी सुविधा पनि इमासमा छ ।

सुरक्षा फिचर

युरोपियन एनक्याबको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको लीपमोटर सी-१०मा सुरक्षाका सबै आधुनिक फिचर छन् । यसमा ७ वटा एयरबयाग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन, हाइड्रोलिक ब्रेक असिस्ट दिएको छ ।

ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट, एक्टिभ रोलओभर प्रोटेक्सन, मल्टि कलुजन ब्रेक, ब्रेक ओभर राइड सिस्टम पनि पाउन सकिन्छ । सी-१० एसयूभीमा १३ वटा हाइ प्रिसिजन सेन्सर सहितको १९ प्लस फिचर रहेको एडास सिस्टम छ ।

प्रोटोन इमास-७ ले आसियन एनक्याप क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । यसमा १५ प्रकारको सुरक्षा फिचर भएको लेबल २ एडास सिस्टम छ । यसमा ६ वटा एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, एक्टिभ रोल ओभर प्रोटेक्सन, हिल होल्ड, रियर एण्ड फ्रन्ट पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा छन् ।

मूल्य

नेपाली बजारमा आगामी महिनाबाट बिक्री सुरू हुने प्रोटोनको इमास-७ प्राइम र प्रिमियम दुई भेरियन्टमा उपलब्ध हुनेछ । प्राइम भेरियन्टमा सानो ब्याट्रीप्याक रहेकाले लीप सी-१० सँग तुलना हुँदैन । प्रिमियम भेरियन्टमा ६०.४८ किलोवाटको ब्याट्री छ, यसको मूल्य ६७ लाख ९९ हजार तोकिएको छ ।

लीपमोटर सी-१० एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको छ ।

निष्कर्ष

क्याबिन फिचर र मोटर पावरमा समान रहेका यी दुई इलेक्ट्रीक एसयूभी निकै आकर्षक देखिन्छन् । दुवै एसयूभीमा एलईडी डीआरएल, एलईडी हेडल्याम्प र कनेक्टेड एलईडी फुल लेन्थ टेललाइट पाउन सकिन्छ । रेन्ज पनि दुवै एसयूभीको ४१० र ४२० किलोमिटर छ । जुन लगभग समान हो ।

बाहिरी बनावट हेर्दा लीपमोटरको सी-१० बल्की र लामो देखिन्छ । इमास-७ स्लीक र स्मार्ट देखिन्छ । नेपाली बजारमा लीपमोटरको बिक्री साँग्रिला मोटर्सले गर्दै आएको छ । प्रोटोन भने जगदम्बा मोटर्सले ल्याएको हो । दुवै कम्पनी विगत लामो समयदेखि बजारमा छन् । सिट्रोन बिक्री सुरू गरेपछि नेटवर्क विस्तार बढाएको साँग्रिलाको तुलनामा प्रोटोनको नेटवर्क कमजोर छ ।

प्रोटोन इमास-७ को भन्दा धेरै ग्राउण्ड क्लियरेन्स हुनु र रियर ह्वील ड्राइभ हुनु सी-१० को बलियो पक्ष हो । नयाँ टेक्नलोजीको सेल टु बडी ब्याट्री प्याक, एजिज सर्ट ब्लेड ब्याट्री हुनु इमास-७ को राम्रो पक्ष हो ।


Back_to_top