काठमाडौं । स्क्रयाम्बलर शब्द उच्चारण गर्न कठिन भएपनि मोटरसाइकल सुन्दर हुने भएका कारण युवा हुन् वा केही पाको उमेरका राइडर सबैले यसलाई मनपराउँछन् । नेपाली बजारमा प्रिमियम मोटरसाइकलको बिक्री बढ्दै जाँदा स्क्रयाम्बलर मोडलको बिक्री पनि बढ्दै गएको हो ।
अहिले प्रिमियम सेग्मेन्टमा बजाज, होन्डा, ट्रायम्फ, केटीएम, जावा, यज्दी लगायतका ब्राण्ड उपलब्ध छन् । तर, सबैले स्क्रयाम्बलर डिजाइनमा मोटरसाइकल उपलब्ध गराएका छैनन् ।
प्रिमियम सेग्मेन्ट अन्तर्गत स्क्रयाम्बलर मोडलमा आधारित ट्रायम्फ र यज्दी ब्राण्डका मोटरसाइकल उत्कृष्ट छन् । त्यसैले यी दुई ब्राण्डका स्क्रयाम्बलर मोटरसाइकलमा रहेका भिन्नता हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
डिजाइन
रेट्रो मोर्डन लुक्समा रहेका यी दुबै स्क्रयाम्बलर मोटरसाइकल प्रिमियम छन् । रेट्रो फिल दिने राउन्ड हेडलाइट, हेडलाइट ग्रिल, हाइ ग्राउन्ड क्लियरेन्स, मोर्डन बडी ग्राफिक्स डिजाइन, बल्की लुक्स, नकल गार्ड, रेट्रो इन्स्पायर मिरर, पिलियन सिट र आकर्षक कलर दुबै मोडलका विशेषत हुन् ।
यज्दीको दुबै साइडमा सिंगल ब्यारल एग्जस्ट, ग्र्याबरेल, फ्रन्ट मडगार्ड, रियर मडगार्ड, ब्रेस्ड ह्यान्डलबार र ट्रायम्फ एक्समा एक साइड डबल ब्यारल एग्जस्ट, आल्मुनियम स्वीगंआर्म, टल ह्यान्डलबार, रेडियटर स्क्रीन, स्कीड प्लेट र डबल टिप मफलर पाउन सकिन्छ ।

इन्जिन
ट्रायम्फ स्क्रयाम्बलर एक्समा ३९८ सीसीको युरो ५ कम्प्लाइन्ट, सिंगल सिलिन्डर, फोर भल्ब, लिक्वीड कूल्ड, डिओएचसी, एफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम ४० पीएस पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता १५५ किलोमिटर प्रतिघण्टा छ ।
यज्दी स्क्रयाम्बलरमा ३३४ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, लिक्वीड कूल्ड, डिओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम २९.७७ ब्रेकहर्स पावर र २८.२० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।
यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स र इलेक्ट्रीक सेल्फ स्टार्ट दिइएको छ । पावरमा ट्रायम्फ निकै अगाडि देखिन्छ ।
माइलेज
यज्दीमा १२.५ लिटरको फ्युल ट्याकं र ट्रायम्फ एक्समा १३ लिटरको फ्युल ट्याकं छ । बिक्रेता कम्पनीहरुको दाबी अनुसार १ लिटर पेट्रोलबाट ट्रायम्फ स्क्रयाम्बलर एक्सले २५ देखि २९ किलोमिटरसम्म माइलेज दिन्छ । यज्दी स्क्रयाम्बलरले ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिने बताइन्छ ।

सस्पेन्सन, टायर र डाइमेन्सन
यज्दीमा टेलिस्कोपिक फोर्क र ट्वीन सक एब्जर्बर सस्पेन्सन सेटअप, डबल डिस्क ब्रेक, स्वीचेबल डबल च्यानल एबीएस, मल्टि एबीएस मोड, ट्युबलेस टायर र लार्ज स्पोक ह्वील दिएको छ ।
यज्दी मोटरसाइकलको लम्बाइ २१५४ एमएम, चौडाइ ९०० एमएम, हाइट १२६३ एमएम र ह्वीलवेस १४०३ एमएम छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम र तौल १८२ किलोग्राम छ ।
ट्रायम्फ एक्समा युएसडी फर्क र प्रिलोड एड्जस्टेवल ग्याँस मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र अलोय ह्वील छ ।
यसको लम्बाइ २११७ एमएम, चौडाइ ८२५ एमएम, हाइट ११९० एमएम, छ । यसमा ह्वील वेस भने १४१८ एमएम र ग्राउन्ड क्लियरेन्स १९५ एमएम छ । ट्रायम्फको १८५ किलोग्राम छ ।
फिचर
दुबै मोटरसाइकलमा पुरै एलइडी लाइट सेटअपसँगै एलइडी डिआरएल दिइएको छ । यज्दीमा स्पीडोमिटर, ओडोमिटर, ट्रिप मिटर, गियर इन्डिकेटर, फ्युल लेभल इन्डिकेटर सहितको अफसेट सर्कल पुरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल र चार्जिङ पोर्ट जस्ता फिचर छन् ।
ट्रायम्फ एक्समा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, राइड बाइ वायर थ्रोटल, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, चार्जिङ पोर्ट र टर्क एसिस्ट क्लच पाउन सकिन्छ ।
मूल्य
अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इंकले बिक्री गर्दै आएको यज्दी स्क्रयाम्बलर मोटरसाइकल सिंगल र डबल टोन कलर भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा सिंगल टोन कलर भेरियन्टको मूल्य ९ लाख ४९ हजार रुपैयाँ र डबल टोन कलर भेरियन्टको मूल्य ९ लाख ५६ हजार रुपैयाँ रहेको छ । अहिले कम्पनीले स्कीम ल्याएर ७ लाख ५० हजार रुपैयाँदेखि यज्दी स्क्रयाम्बलर बिक्री गर्दै आएको छ ।
केही महिना अगाडि मात्रै हंसराज हुलासचन्दले नेपालमा बिक्री सुरु गरेको ट्रायम्फ स्क्रयाम्बलर एक्स पनि दुई कलर भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा यी दुई भेरियन्टको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


