काठमाडौं । प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्सले नयाँ एसयूभी एक्स ५० नेपालमा विक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले केही समय अघि नै नेपाल ल्याएको एक्स ५० को विक्री सुरु गर्न लागेको हो ।
अहिले कम्पनीले नेपाल ल्याएको एक्स ५० बजारमा विक्री हुँदै आएको एक्स ७० को तुलनामा सानो छ । त्यसैले यसको मूल्य पनि कम हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यसको मूल्य र भेरियन्टको विषयमा कुनै जानकारी दिएको छैन । तथापी ६५ लाखदेखि ८४ लाख भित्रै यसको मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।
विशेषत सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स ५० मा ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी) जस्ता आधुनिक फिचर दिएको छ ।
साथै, अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण हुँदै आएको एक्स ५० मा एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर पाउन सकिन्छ । यद्यपि नेपालमा उपलब्ध फिचरको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
प्रोटोनले एक्स ५० मा १.५ लिटर टिजिडीआई टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर र २२६ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । चालकले स्टेरिङ मोड र ड्राइभ मोड पनि छनोट गर्न सक्ने छन् ।
एक्स ५० मा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषता पाउन सकिन्छ ।


