काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरीले बजारमा ल्याएको क्यूक्यू थ्री इलेक्ट्रीक ह्याचव्याकले एक दिनमै ५६ हजार ८७९ युनिट बुकिङ पाएको छ । कम्पनीले हिजो मार्च ३० तारिखमा इलेक्ट्रीक ह्याव्याक ‘क्यूक्यू थ्री’ सार्वजनिक गरेको थियो ।
चीनमा ५८ हजार ९०० युआन (८ हजार २०० अमेरिकी डलर) मूल्य तोकेर बिक्री सुरु भएको क्यूक्यू थ्रीमा उपभोक्ताले जमेर पैसा लगाएका छन् । निकै आकर्षक डिजाइन र दुई ब्याट्री अप्सनमा उपलब्ध क्यूक्यू थ्री कुल चार भेरियन्टमा उपलब्ध हुनेछ । यसको टप भेरियन्टको मूल्य ७८ हजार ९०० युआन (११ हजार अमेरिकी डलर) तोकिएको हो ।
यसमा मोटर साइज पनि दुई वटा पाउन सकिन्छ । सानो २९.४८ किलोवाट आवरको ब्याट्रीसँग ५८ किलोवाटको मोटर छ । यसको पीकटर्क भने ९० न्यूटन मिटर रहेको छ । यो ब्याट्रीले सीएलटीसी टेस्टमा ३१० किलोमिटर रेन्ज देखाएको छ । दुबै ब्याट्रीले डीसी चार्जर सपोर्ट गर्छ । चार्ज गर्दा ३० प्रतिशतदेखि ८० प्रतिशत पुग्न केबल १६.५ मिनेट कम्पनीले जनाएको छ ।
ठूलो ब्याट्री ४१.२८ किलोवाट आवरको छ । यो ब्याट्रीसँग भने ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क भने ११५ न्यूटन मिटर छ । ठूलो ब्याट्रीले सीएलटीसी टेस्टमा ४२० किलोमिटर रेन्ज देखाएको छ ।
क्यूक्यू चेरीले सन् २००५ देखि उत्पादन थालेको ह्याचब्याक मोडल हो । सन् २००८ ताका नै क्यूक्यू नेपालमा बिक्री भएको थियो । आफ्नो १० लाख युनिटभन्दा बढी उत्पादन भएको ह्याचब्याक मोडल पछि कम्पनीले सन् २०१४ बाट बन्द गरेको थियो ।
अब त्यही उत्पादन बन्द भएको मोडलकै नामबाट इलेक्ट्रीक कार ल्याएको हो । ‘अल न्यू चेरी क्यूक्यू-थ्री’ नाम रहेको ह्याचब्याक कारमा ओभल डिजाइनको हेडलाइट प्रयोग भएको छ । दुई होरिजेन्टल डे टाइम रनिङ लाइट प्रयोग भएको कारको पछाडि पनि ओभल डिजाइनकै टेल लाइट पाउन सकिन्छ ।

क्यूक्यू-थ्री इलेक्ट्रीक मोडलको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र उचाइ १५६९ एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलबेस दिएको हो ।
प्रिमियम ह्याचब्याक कारको क्याबिन पनि फिचर लोडेड छ । यसमा १५.६ इन्चको २.५ के फ्लोटिङ स्क्रीन, ओभल डिजाइनमै तयार भएको एसी भेन्ट, एआइमा आधारित भोइस कमाण्ड, क्वालकमको ८१५५ स्न्यापड्रायन चीप प्रयोग भएको छ ।

