काठमाडौं । वर्षायाममा सवारी साधन चलाउन सहज हुँदैन । वर्षाका कारण सडक हिलाम्मे, चिप्लो हुन्छ । अझ नेपालका धेरै जसो सडकमा त पानीको पोखरी नै जमेको हुन्छ ।
मनसुनमा सडकको अवस्था खराब मात्र होइन, बाढीपहिरोको जोखिम पनि उत्तिकै हुन्छ । कुन ठाउँमा कति बेला बाढीपहिरो आउँछ ठेगान हुँदैन । जसकारण ठाउँठाउँमा घण्टौंसम्म रोकिनुपर्ने अवस्था समेत आउन सक्छ ।
वर्षायाममा सवारी चलाउनु भनेको एउटा चुनौती नै पार गर्नु हो भन्दा फरक पर्दैन । सकेसम्म वर्षामा लामो रुटमा गाडीमा यात्रा नगर्नु राम्रो हो । तर, गाडीमा यात्रा गर्नै पर्ने वा आफैं सवारी चलाउनु पर्ने अवस्था आएमा केही सावधानी उपायहरू अपनाउनु पर्छ । यसबाट सम्भावित .दुर्घटनाबाट जोगिन सकिन्छ ।
यी १० महत्त्वपूर्ण कुरा थाहा पाइराख्नुहोस्, यसले तपाईंलाई सवारी चलाउन र यात्रा गर्न निकै सहज बनाउँछ ।
१. गाडी चलाउँदा हाजार्ड लाइटको प्रयोग नगर्नुहोस्
धेरै मानिसहरूले पानी पर्न थालेपछि हाजार्ड लाइट (खतराका बत्तीहरू) बाल्छन् । तर यी बत्तीहरू आपतकालीन प्रयोगको लागि मात्र हुन् । जब गाडी बिग्रन्छ र सडकको छेउमा पार्किङ गरिन्छ, तब मात्र हाजार्ड लाइटको प्रयोग गर्नुपर्छ । गाडी चलाइ रहँदा यस्तो लाइटको प्रयोग गर्नाले पछाडिबाट आउने चालकलाई अलमल्लमा पार्न सक्छ । जसले दुर्घटनाको जोखिम बढाउँछ । कम लाइट छ भने हेडलाइट र फग ल्याम्पहरू प्रयोग गर्नुहोस् ।
२. पानी जम्ने बाटोबाट बच्नुहोस्
यदि पानी जमेको सडकमा अगाडीको सवारी साधन गयो भने, आफू पनि जान सक्छु भनेर नसोच्नुहोस् । धेरै पटक पानी इन्जिन वा एग्जस्ट पाइपमा पस्छ र गाडी बीचमा रोकिन्छ । यदि तपाईंंलाई पानीको गहिराइ थाहा छैन भने, त्यो बाटोमा नजानुहोस् बरू अर्को बाटो घुमेर जानुहोस् । बीच बाटोमा गाडी बिग्रएर अड्किनुभन्दा केही समय ढिलो जानुहोस् ।
३. डुबेको गाडी स्टार्ट नगर्नुहोस्
यदि तपाईंंको गाडी पार्किङ गरिएको ठाउँमा पानीमा डुबेको छ भने स्टार्ट गर्ने गल्ती नगर्नुहोस् । यसले इन्जिनमा पानी पस्न सक्छ र गाडी हाइड्रोलक हुन सक्छ, । जसका कारण सम्पूर्ण इन्जिनलाई क्षति पुर्याउन सक्छ । यस्तो अवस्थामा मद्दतको लागि पर्खनुहोस् वा टोइङ सेवालाई कल गर्नुहोस् ।
४. ग्लास ब्रेकर (हथौडा) राख्नुहोस्
यो तरिका फिल्मी लाग्न सक्छ, तर यो सानो उपकरणले जीवन बचाउन सक्छ । यदि कार डुबिरहेको छ वा लक भएको छ भने ग्लास ब्रेकरको सहायताले सिसा फुटाएर बाहिर निस्कन सम्भव हुन्छ । यदि तपाईं हातले वा खुट्टाले गाडीको सिसा फुटाउने काम नगर्नुहोस् । त्यसैले हथौडालाई चालकको सिट नजिकै सुरक्षित ठाउँमा राख्नुहोस् ।
५. टायरको ट्रेड ३ एमएमभन्दा कम हुन नदिनुहोस्
मनसुन समयमा टायरको ग्रिप सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पुरानो वा जीर्ण टायर पानीमा चिप्लिएर सवारी साधनको सन्तुलन बिगार्न सक्छ । टायरको ट्रेड अर्थात यसमा रहेको बुट्टाको गहिराई कम्तीमा पनि ३ एमएम हुनुपर्छ । यदि टायर चर्किएको वा जीर्ण छ भने तुरुन्तै फेर्नुहोस् ।
६. वाइपर र वाशर फ्लुइड जाँच गर्नुहोस्
वर्षायाममा गाडी चलाउँदा अगाडिको सडक स्पष्ट दृश्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो । पुरानो वाइपर ब्लेडहरूले पानीलाई पूरा वाइप नगर्न वा धब्बा छोड्न सक्छन् जसले तपाईंंको अगाडिको भिजिबिलिटी कम गर्न सक्छ । समयमै वाइपरहरू बदल्नुहोस् र विण्डस्क्रीनको फोहोर सफा गर्न विन्डशिल्ड वाशर फ्लुइड पनि रिफिल गर्नुहोस् ।
७. झ्यालहरूमा फोगिङ हुनबाट रोक्नुहोस्
वर्षाको समयमा भित्र र बाहिरको तापक्रम फरक हुन्छ । जसले गर्दा अगाडि’पछाडिका सिसामा र झ्यालहरूमा फोगिङ हुन्छ । एयर ब्लोअर सिधै चलाउँदा यो अझ बढ्न सक्छ । यसको सट्टा, एसीलाई डिफगर मोड वा रिसक्र्युलेशन मोडमा चलाउनुहोस् । साथै, विन्डशिल्ड सफा राख्नुहोस् ।
८. गाडीमा पानीको बोतल र केही खानेकुरा राख्नुहोस्
मनसुनका बेला जो कोही पनि ट्राफिक जामको शिकार हुन सक्छन् । अझ नेपालको जस्तो देशका सडक बाढीपहिरोका कारण जुनसुकै बेला अवरुद्ध हुन सक्छ । यस्तोमा तपाईंंले गाडीमा पानीका बोतल र ड्राइ स्न्याक्स राख्नुभएको छ भने घण्टौंसम्म जाममा फसियो भने पनि भोकाउनु वा तिर्खाउनु पर्दैन ।
९. रूख मुनि पार्किङ नगर्नुहोस्, सनरुफ जाँच गर्नुहोस्
वर्षाको समयमा रूख मुनि पार्किङ गर्नु खतरनाक हुन सक्छ । किनकि ठूलो हावा चल्दा हाँगाहरू भाँचिन सक्छ, रूख ढल्न सक्छ । अझ ठूलो खतरा त चट्रयाङ समेत अग्ला रुखमा पर्ने धेरै सम्भावना भएकाले पार्क गर्दा रुख मुनि नगर्नु राम्रो हो । यदि तपाईंंको गाडीमा सनरुफ छ भने प्रत्येक वर्षापछि यसलाई जाँच गर्नुहोस् । यदि ड्रेनेज पाइपहरू अवरुद्ध छन् वा चुहावट भएको छ भने पानी सनरुफबाट लिक हुन सक्छ ।
१०. आपतकालीन सम्पर्क नम्बरहरू सधैं आफूसँग राख्नुहोस्
मनसुनको समयमा जहाँ जे पनि हुन सक्छ । त्यस्तो अवस्थामा बीमा, रोड साइड असिस्टेन्ट, टो सेवा र अन्य सेवा केन्द्रको नम्बरहरू आफ्नो फोनमा सुरक्षित राख्नुहोस् । यदि तपाईंं लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने, आफ्नो रुटको विवरण परिवारको सदस्य र नजिकका साथिहरूसँग शेयर गर्नुहोस् । लामो रुटमा यात्रा गर्दा आफूसँग पावर बैंक पनि राख्नुहोस् ।

