बाबा रामदेव पुनः एकपटक निकै चर्चामा रहेका छन् । विशेषत योग र व्यवसायका कारण सधैँ चर्चामा रहने योगगुरु रामदेव यसपटक भने डुकाटीले उत्पादन गरेको ‘स्क्राम्बलर’ बाइकको कारण चर्चामा रहेका छन् ।
रामदेवले भारतका अर्का धर्मगुरु सद्गुरु महाराजसँग सुपरबाइक डुकाटी ‘स्क्राम्बलर’ चलाएको विषयले निक्कै चर्चा पाएको छ । चर्चित सन्त वा धर्मगुरुले डुकाटीजस्तो हेबी मोटरसाइकल चलाउनु निक्कै आश्चर्यको कुरा भएको टिप्पणी भइरहेको छ ।
आयुर्वेदिक औषधि तथा खाद्यपदार्थ उत्पादन गर्दैआएको पतञ्जलीका उत्पादन नेपाली बजारमा समेत निकै चर्चित रहेको छ । योगा, ध्यान, कसरतमात्रै नभई आयुर्वेदिक उत्पादनबाट परिचित भएका रामदेवले बीएसएनएलसँगको सहकार्यमा मोबाइल सीमकार्ड बजारमा ल्याएका छन् ।
सधैँजसो प्रवचन र योगमा देखिएका यी दुई सन्तले डुकाटी स्क्राम्बलर मोटरसाइकल चलाउँदै गरेको ‘दृश्य र भिडियो’ सोसल मिडियामा भाइरल भएको छ । भिडियोमा सद्गुरु महाराजले मोटरसाइकल चलाएका छन् भने, रामदेव पछाडि बसेका छन् । सद्गुरुले मोटरसाइकल चलाउनु आफ्नो शौखको भएको प्रतिक्रिया दिएका थिए ।
उनले यसपूर्व पनि बीएमडब्ल्यूको आरजी–१२०० एस मोटरसाइकल चलाउँदैआएका थिए । सद्गुरुले आफ्नो रोजाइमा परेको डर्ट मोटरसाइकल मुम्बईको सडकमा चलाउने शौख भएको बताए । टु–ह्वीलरअन्तर्गत मोटरसाइकल, स्कुटरप्रति युवापुस्ताको आकर्षण स्वभाविक मानिन्छ । तर, सन्त वा धार्मिक गुरुको मोटरसाइकलप्रतिको आकर्षण वास्तवमा नै आश्चर्यको विषयको रुपमा लिने गरिएको छ ।

