बजाज अटोले कम्पनीको प्रख्यात मोटरसाइकल बजाज पल्सर एनएस–१६० सार्वजनिक गरेको छ । कम्पनीले रियर डिस्क ब्रेक र एबीएस विशेषतासहित बजारमा ल्याएको मोटरसाइकलको मूल्य ८२ हजार ६ सय ३० भारतीय रुपैयाँ तोकिएको छ । कम्पनीले सन् २०१७ मा यो सुविधाविना नै मोटरसाइकल सार्वजनिक गरेको थियो ।
कम्पनीले आगामी वर्ष यही मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गर्ने जानकारी दिँदै सो मोटरसाइकलमा च्यानल एबीएस सिस्टमको विशेषता दिने जनाएको छ । रियर बे्रेक लगाएसँगै मोटरसाइकलको तौल दुई किलोग्रामसम्म बढेको कम्पनी बताउँछ । हाल मोटरसाइकलको तौल १४२ किलोग्राम पुगेको छ ।
बाइकको अगाडिको पाङ्ग्रामा २४० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ भने पछाडिको पाङ्ग्रामा २३० मिलिमिटर डिस्क ब्रेक लगाइएको छ । यसमा कुनै पनि मेकानिकल परिमार्जन नगरिएको कम्पनीले जनाएको छ । मोटरसाइकलमा मौजुद १६० सीसीको फोरस्ट्रोक ओयल–कुल्ड इञ्जिनले ८५०० आरपीएममा १५.५ बीएचपी पावरकासाथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।
अर्काे वर्ष सार्वजनिक हुने बजाज पल्सर एनएस–१६० मा सिङ्गल च्यानल एबीएस सिस्टम दिने कम्पनीले जनाएको छ । साथै, मोटरसाइकलमा सुरक्षासँग सम्बन्धित विशेषताकासाथै माइलेजमा पनि सुधार गर्ने कम्पनीको योजना छ ।
भारतीय कम्पनीले १५० देखि १६० सीसी इञ्जिन क्षमताका मोटरसाइकललाई सिङ्गल च्यानल एबीएसमा अपग्रेड गर्दैआएका छन् । परिमार्जन गरिएको सवारी ऐन र उत्र्सजन कानुनबमोजिम २०१९ को अप्रिल महिनाबाट यो सुविधा राख्नु अनिवार्य बनाइएको छ ।
भारत सरकारले परिवर्तन गरेको नियमबमोजिम १२५ सीसी वा सोभन्दा बढी इञ्जिन क्षमताका सवारीसाधनले २०१९ सम्ममा सिङ्गल च्यानल एबीएस अनिवार्यरुपमा लगाउनै पर्नेछ ।
बजाजको नेपालको लागि आधिकारीक वितरक एचएच बजाजले यस मोटरसाइकललाई चाँडै नेपाल ल्याउने तयारी गरिरहेको बुझिएको छ ।


