काठमाडौं । स्याफ्रुबेँसी-रसुवागढी सडक अन्तर्गत स्याफ्रुबेँसी-टिमुरे खण्डमा यातायात संचालनमा आएको छ ।
गत असार २४ गते र साउन १४ गते आएको बाढीले बगाएको सडक मर्मत तथा नयाँ ट्रयाक खोली शुक्रबारदेखि स्याफ्रुबेँसी-टिमुरेमा साना सवारी साधन संचालनमा ल्याइएको हो ।
गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक आयोजनाका आयोजना प्रमुख खड्गलाल श्रेष्ठले स्याफ्रुबेँसीबाट टिमुरेसम्म १४ किलोमिटर राजमार्गमा ट्र्याक खोल्ने काम सम्पन्न भई साना तथा हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार टिमुरेबाट रसुवागढीसम्मको २ किमी सडक खुलाउने प्रयास भइरहेको छ ।
वर्षा नसकिनुका साथै दैनिक रूपमा नदीले कटान गरिरहेकाले ठूला सवारीसाधन नियमित सञ्चालनमा अझै केही समय लाग्ने उनले बताए । उनले टिमुरे रसुवागढी खण्डमा सडक विभागको स्काभेटरमा जडान गरिएको ब्रेकरको सहायताले पहरा फुटाउने काम भइरहेको जानकारी दिए ।
टिमुरे र घट्टेखोला बिचको स्याउ पार्किङस्थल छेउ भिरको फेदमा सडकको जग कटान भएकाले त्यस स्थानमा माथिबाट ठुलाठुला पहरा काट्नुपरेको जनाउँदै प्रमुख श्रेष्ठले सो काम सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने प्राविधिक अनुमान गरिएको बताए ।
चीन सरकारले मितेरी पुल तयार गर्नुपूर्व स्याफ्रुबेँसी-रसुवागढीको सडक तयार गर्ने योजनासहित काम गरिरहेको प्राविधिकहरूले बताएका छन् ।
मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले ल्हेन्देखोलामा द्रुतगतिमा पूर्वाधार निर्माण अगाडि बढाइरहेको छ ।
चीनले आफ्नो भूभागमा नयाँ बन्ने बेलिब्रिजको पिलर निर्माण गरिसकेका छ । नेपालतर्फको भागमा पुलको पूर्वाधार बनाउन चिनियाँ प्राविधिकको सहजताका लागि ल्हेन्देखोलामा ह्युमपाइप राखेको थियो । तर, बिहीबार रातिको वर्षाले बगाएको छ ।


