नयाँ मोटरसाइकल नेपालमा बिक्री सुरु गर्न जुट्यो बजाज

काठमाडौं । बजाजको लागि नेपालको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने तयारीलाई तिब्र बनाएको छ । कम्पनीले पहिलो पटक २५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने तयारी गरेको हो ।

बजाजका मोटरसाइकल विगत तीन वर्षदेखि नेपालमा नै एसेम्बल हुँदै आएका छन् । यस्तोमा बजाजको नयाँ मोटरसाइकल डोमिनार २५० पनि नेपालमा नै एसेम्बल गरेर बिक्री सुरु गर्न लागेको हो ।

बजाजले नेपालमा बिक्री सुरु गर्न लागेको डोमिनार २५० भारतमा झण्डै एक वर्षअघिबाट बिक्री हुँदै आएको छ । नेपालमा २०७७ बैशाखबाट बिक्री सुरु गर्ने तयारी भएको भएपनि कोभिड १९ को बढ्दो संक्रमण र लकडाउनको कारण बिक्री सुरु हुन सकेको थिएन । कम्पनीले दशैंमा यसको बिक्री सुरु गर्ने भनेपनि त्यो पनि संभव भएको थिएन । अब भने कम्पनीले यसलाई बजारमा ल्याउने तयारीलाई तिब्र बनाएको छ ।

‘अबको केहि दिनमा नै यसको आधिकारीक बिक्री सुरु गर्ने तयारी भइरहेको छ । तर, अहिले नै कुन मितिबाट बिक्री सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

यस्तो छ नयाँ डोमिनार

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर डोमिनार २५० मा दिइएको छ ।

कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिएको छ । उक्त इनिजनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच दिएको छ ।
डोमिनार २५० को लम्वाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम, ह्वीलबेश १४५३ र ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ ।

यसमा १७ इन्च अलोय ह्वील रहेको छ । साथै, डोमिनारमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । यसको फ्यूल ट्याङकमा समेत सानो डिस्प्ले दिइएको छ । उक्त डिस्प्लेमा ओडोमिटर, टाइम र गियर इन्डिकेटर देख्न सकिन्छ ।

नेपालमा बजाज डोमिनार २५० को मूल्य ४ लाख २५ हजार हारहारी रहने हाम्रो अनुमान छ ।


Back_to_top