काठमाडौं । फ्रेन्च कार निर्माता रेनो र कोरियन कार निर्माता हुन्डाईसँग सानादेखि प्रिमियम कार उत्पादन गर्दै आएको अनुभव छ । यी दुवै कार ब्राण्डले आफ्नो लामो यात्रा पूरा गरिसकेका छन् ।
रेनोले जोइ र हुन्डाईले कोनाबाट आफ्नो इलेक्ट्रीक कारको व्यवसायिक यात्रा सुरू गरेका थिए । अहिले दुवै ब्राण्ड ईभी उत्पादनमा आक्रमकता देखाउन कोशिस गरिरहेका छन् । यद्यपि, ठूलो संख्यामा ईभी बेचेर आफ्नो अलग पहिचान भने दुवै ब्राण्डले बनाइसकेका छैनन् ।
प्रिमियम इलेक्ट्रीक कार मात्रै उत्पादन गर्दै आएको हुन्डाईले इन्ट्री लेभल एसयूभीको रूपमा अघिल्लो महिना इन्स्टरलाई कोरियन बजारमा देखायो । कोरियामा भएको बुसान अटो शोमा सार्वजनिक भएको इन्स्टर अहिले धेरैले चर्चा गरिरहेको मोडल हो ।
हुन्डाईले कोरियामा उत्पादन भएका विद्युतीय कार नेपालमा उपलब्ध गराइरहेको कारण इन्स्टर पनि नेपाल आउने अनुमान गर्न सकिन्छ । हुन्डाईका कार लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको छ ।
फ्रेन्च ब्राण्ड रेनो नेपालमा एड्भान्स अटोमोबाइलले बिक्री गर्दै आएको छ । तर, रेनोले अहिलेसम्म नेपालमा ईभी ल्याएको छैन । तर, युरोपमा भने धेरै पहिलादेखि नै कम्पनीले ईभी बिक्री गर्दै आएको छ । यस्तोमा कम्पनीले क्लासिक डिजाइनमा आधारीत रेनो-५ यूरोपमा बिक्री सुरू गरेर धेरैको ध्यान खिच्न सफल भएको छ ।
नेपाली बजारमा तत्काल रेनो-५ आउला वा नआउला भन्न सकिने अवस्था छैन । तर, सन् २०१८ मै जोइ ईभी नाडा अटो शो २०१८ मा ल्याएको एड्भान्स अटोमोबाइलले रेनो-५ नल्याउला भन्न सकिँदैन । यस्तोमा रेनो-५ र इन्स्टरमा रहेका केही फरक यहाँ प्रस्तुत गरेका छौं ।
साइज र बनोट
हुन्डाई इन्स्टर माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध मोडल हो । अग्लो हाइट र कम्प्याक्ट साइजले यसको डिजाइन युनिक बनाएको छ । इन्स्टरको लम्बाइ ३८२० एमएम, चौडाइ १५७० एमएम र उचाइ १७६० एमएम रहेको छ । यसमा २५८० एमएम लामो ह्वीलबेस दिइएको छ ।

रेनो-५ भने एक क्लासिक डिजाइनमा तयार भएको ह्याचब्याक कार हो । निकै आकर्षक लुक्स र एरोडाइनामिक सहितको सार्प डिजाइनमा रेनो-५ तयार भएको हो । यसको लम्बाइ ३९२२ एमएम, चौडाइ १८०८ एमएम र उचाइ १४८९ एमएम छ । यसमा २५४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
मोटर र ब्याट्री
रेनोले आफ्नो क्युट ह्याचब्याक कारमा ७० र ९० किलोवाटको दुई मोटर साथै, ४० र ५२ किलोवाट आवर क्षमताको ब्याट्री अप्सन दिएको छ । यस कारको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा रहेको ब्याट्रीलाई १०० किलोवाट क्षमताको डीसी चार्जरले चार्ज गर्न सकिन्छ ।

हुन्डाई इन्स्टर पनि रेनो–५ कै जस्तो दुई फरक ब्याट्री र मोटर पावरमा उपलब्ध हुनेछ । यसमा ७२ र ८५ किलोवाटको मोटर दिइएको छ । ब्याट्री पनि ४२ र ४९ किलोवाट आवर क्षमताको पाउन सकिन्छ । यसको पनि टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले १२० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
मुख्य फिचर
हुन्डाईले इन्स्टर माइक्रो एसयूभी मोडलमा १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र १०.२५ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कम्पनीले आफ्नो इन्ट्री मोडल एसयूभीमा पनि आयोनिक-५ रहेको एडास सहितको सेफ्टी फिचरहरू दिएको छ ।
रेनो-५ मा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । एडास फिचर पनि यसमा पाउन सकिन्छ । यसमा १८ इन्चको ह्वील प्रयोग भएको छ ।
रेन्ज
दुवै कारको रेन्ज ब्याट्री साइज अनुसार ३३० देखि ४१५ किलोमिटरसम्म रहेको छ ।

