काठमाडौं । सिट्रोनले आगामी अगष्ट २ तरिखमा बसाल्ट एसयूभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले कुपे डिजाइनमा ल्याउन लागेको बसाल्ट भारतमा उत्पादन हुन लागेको तेस्रो मोडल हो ।
सिट्रोनले भारतमा यसअघि सब फोर मिटर एसयूभी सीथ्रीको इलेक्ट्रीक र पेट्रोल दुबै भर्सनमा उत्पादन र बिक्री थालेको थियो । त्यस्तै कम्पनीले दोस्रो मोडलको रुपमा सीथ्री एयरक्रस एसयूभी उत्पादन गरेको थियो । अहिले सीथ्री एयरक्रस मोडलको पनि ईभी भर्सन उत्पादनको तयारी भइरहेको छ ।
सिट्रोनले बसाल्टलाई भारतमा उत्पादन गरी नेपाल लगायत अन्य राइट ह्याण्ड ड्राइभ देशहरुमा निर्यात गर्ने योजना बनाएको छ । बसाल्टको ४.३ मिटर लम्बाई रहेको छ । यसको सिधा प्रतिस्पर्धा आउँदै गरेको टाटा कर्भसँग हुनेछ ।
बसाल्टमा पनि सीथ्री एयरक्रसमै प्रयोग भएको ११० हर्सपावर दिने १.२ लिटर टर्बो पेटोल इन्जिन रहनेछ । यो एसयूभी म्यानुअल र अटोमेटीक दुबै गियरबक्समा आउने छ ।
आकर्षक स्लोप रुफका साथै बसाल्टमा सीथ्री ह्याचव्याक तथा सीथ्री एयरक्रस एसयूभीमा भन्दा धेरै फिचरहरु थपिने अपेक्षा गरिएको छ । सिट्रोनका हालका उत्पादनहरु प्रतिस्पर्धी मोडलहरु भन्दा कम फिचर भएका कारणले आलोचित भइरहका छन् । त्यसैले बसाल्ट फिचर लोडेड हुनेछ ।

