काठमाडौं । निसानले आगामी दुई वर्ष भित्र भारतमा चार नयाँ मोडल ल्याउने योजना अगाडि सारेको छ । जापानी ब्राण्डले आफ्नो चार नयाँ मोडलमा सानो इलेक्ट्रीक मोडलदेखि एसयूभीसम्म ल्याउने योजना बुनेको हो ।
कम्पनीले बनाएको योजना अनुसार विल्कुलै नयाँ लुक्समा म्याग्नाइट सब फोर मिटर एसयूभी केही महिना भित्रै बजारमा आउने छ । निसान म्याग्नाइट पहिलेभन्दा धेरै फिचर र लग्जरी बन्नेर आउने भएको हो ।
निसानले नयाँ म्याग्नाइटमा अगाडि र पछाडिको बम्पर, हेडलाइट हाउजिङ र फ्रन्ट ग्रिलमा परिमार्जन गर्नेछ । साथै, भ्यान्टिलेटेड सिट, सिंगल प्यानल सनरुफ, वायरलेस चार्जर लगायतका फिचर थप्नेछ । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहनेछ ।
निसान किक्सको उत्पादन रोकेको कम्पनीले त्यहि सेग्मेन्टमा नयाँ एसयूभी ल्याउने छ । नेक्ट जेरेशन रेनो डस्टरमा आधारित रहने नयाँ एसयूभीको नामको विषयमा कम्पनीले केही जानकारी दिएको छैन ।

ठूलो पारिवारीक कार खोज्नेको लागि मिडसाइज एसयूभी सेग्मेन्टमा सात सिट क्षमताको नयाँ मोडल पनि ल्याउने निसानले जनाएको छ । यी दुई मोडल क्रमशः २०२५ मार्च र सेप्टेम्बरमा बजारमा आउने छन् ।
चौथो, मोडलको रुपमा निसानले सानो साइजको इलेक्ट्रीक कार बजारमा ल्याउने छ । कम्पनीले ल्याउने सानो इलेक्ट्रीक कार सम्भवत माइक्रा ह्याचव्याकमा आधारित रहने छ । यसले एमजी कोमेट र टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने सहजै अनुमान लगाउन सकिन्छ । यसलाई सन् २०२६ को मध्येसम्म बजारमा ल्याउने गरी कम्पनीले काम गर्दै आएको छ ।

