काठमाडौं । चिनियाँ कार निर्माताहरुले न्यू इनर्जी भेहिकलमा एकपछि अर्को मोडल दिदै आएका छन् । बीवाइडीको निकै सफल मोडल एटो-थ्रीलाई टक्कर दिन जिलीले ग्यालेक्सी ई-फाइभ मोडल बजारमा उतार्ने भएको छ ।
चिनियाँ मिडिया रिपोर्टका अनुसार बीवाइडी एटो-थ्री र जिलीको ग्यालेक्सी ई-फाइभमा धेरै कुरा समान छन् । आगामी अगष्ट १३ तारिखबाट चीनमा बिक्री सुरु हुने मोडलको मूल्य १७ हजारदेखि २२ हजार अमेरिकी डलर कायम हुनेछ । अटो-थ्रीसँग ग्यालेक्सी ई-फाइभको मूल्य लगभग बराबर हुनेछ ।
जिलीको ‘सस्टेनेवल एक्सपीरियन्स आर्किटेक्चर’मा तयार भएको ग्यालेक्सी ई-फाइभको साइज पनि ठूलो छ । यसको लम्बाई ४६१५ एमएम, चौडाई १९०१ एमएम र उचाई १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।

ग्यालेक्सी ई-फाइभमा एचयूडी हेडअप डिस्प्ले, फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, फ्याटबटम स्टेरिङ ह्वील, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् ।
ग्यालेक्सी ई-फाइभ ४०० भोल्ट आर्किटेक्चरमा बनेको एसयूभी हो । यसमा दिइएको इन्टेलिजेन्ट ड्राइभ सिस्टमसँग ११ मुख्य कम्पोनेन्ट जोडिएको छ । जसमा मोटर, इलेक्ट्रीक कन्ट्रोल लगायत जोडिएको छ । १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको गाडीले ३२० एनएम टर्क प्रदान गर्छ ।
कम्पनीले यसमा जिलीले उत्पादन गरेको ‘एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री’ प्रयोग भएको छ । दुई फरक साइजका ब्याट्री यसमा रहने छ । कम्पनीले ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री दिएको छ । जसको रेन्ज ४४० र ५३० किलोमिटर रहने सीएलटीसीले प्रमाणित गरेको छ । ब्याट्री साइजको आधारमा पनि एटो-थ्रीको बराबर देखिन्छ ।

