काठमाडौं । ‘बुलेट’ नामले परिचित मोटरसाइकल रोयल इनफिल्ड क्लासिक ३५० नेपालमा सदाबहार बिक्री हुने एक मोटरसाइकल हो । कुनै समय मोटरसाइकल पारखीहरुको गर्वको विषय बन्ने गरेको ‘बुलेट’को शान अझै घटेको छैन ।
नेपालमा उपलब्ध निओ क्लासिक डिजाइनको मोटरसाइकल रोयल इनफिल्ड क्लासीक ३५० मात्र भने होइन । यो सेग्मेन्टमा धेरै मोटरसाइकल आए तर, क्लासिक ३५० को अगाडि कुनै मोटरसाइकल टिक्न सकेको देखिदैन ।
अझ नेपालमै एसेम्बल हुन थालेसँगै अन्य उत्पादनले क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन भन्दा हुन्छ । अहिले नेपालमा रोयल इनफिल्ड मोटरसाइकल बिक्री गर्ने कम्पनी अल्फा अटोमोटिभले वार्षिक १० हजार युनिट हाराहारी बिक्री गर्दै आएको छ । जसमा लगभग ७० प्रतिशत क्लासिक ३५० नै बिक्री हुन्छ ।
यही सेग्मेन्टमा आएका होन्डा, जावा/यज्दी, बेनेली जस्ता ब्रान्डका मोटरसाइकल बजारमा आए, गएको अवस्था छ । ती मोटरसाइकलहरु समयसँगै बजारमा आए, टिक्न नसकेर बन्द भए ।
होन्डाले सीबी ३५० सिरिजमा हाइनेस सीबी ३५० नेपाल ल्यायो । जसको मूल्य क्लासिक ३५० कोभन्दा दोब्बर धेरै राखियो । स्याकार ट्रेडिङले सिबी ३५० हाइनेको मूल्य ९ लाखभन्दा धेरै राखेर बिक्री गरिरहेको छ । मूल्य भएपनि आयात ठप्प छ ।

रोयल इनफिल्डले अहिले क्लासीक ३५० को मूल्य ५ लाख ५० हजार मूल्यमै बिक्री गर्दैछ । मूल्यका कारणले सीबी हाइनेस ३५० ले रोयल इनफिल्डसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा पुगेर लगभग बन्द भएको हो ।
बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनले बेनेली इम्पेरियल ४०० नेपालमा बिक्री गरेको थियो । कम्पनीले २०२० ताका नेपाल ल्याएको इम्पेरियल मूल्यका हिसाबमा ठिकै थियो ।

नेपाली ग्राहकको रोजाइमा नपर्नु, सर्भिस नेटवर्कको कमी हुनु र बिक्रेता कम्पनीले ब्रान्ड प्रतिको भरोसा ग्राहकमा बनाउन नसक्दा ७ लाख हाराहारी मूल्य भएको इम्पेरियल ४०० बन्द भयो ।
त्यसैगरी बिक्रम सम्बत २०८० बैशाख ताका नेपाली बजारमा जावा÷यज्दी मोटरसाइकल नेपालमा सार्वजनिक भयो । सुरुमा यसले रोयल इनफिल्डलाई कडै टक्कर दिने आँकलन थियो । अर्कोतर्फ इन्फिल्डमा डिलर सिपको समस्या पनि थियो ।

त्यस समयमा जावाले रोयल इनफिल्डको बजार लिने अनुमान गरिएको थियो । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इंकले नेपाल ल्याएको जावा ४२ ले क्लासिक ३५० लाई कडा टक्कर दिने अनुमान गरिएको थियो । तर, त्यसको ठिक उल्टो भयो, अहिले जावाका मोटरसाइकल बिक्री हुनै छाडेको छ । कम्पनीले विगत ३ वर्षदेखि थप मोटरसाइकल आयात गर्नै सकेको छैन ।
यसका अलावा अन्य ब्रान्डहरुले पनि निओ रेट्रो मोटरसाइकलहरु नेपाल नल्याएका होइनन् । तर, रोयल इनफिल्डले नेपालमा विस्तार गरेको राइडिङ ग्रुप, नेटर्वक विस्तार तथा नेपालमै एसेम्बल गरे पश्चात् दिइएको अफरले थप मजबुद भयो ।
पछिल्लो समय नेपालमा भित्रिएको ट्रायम्फ मोटरसाइकलले भने यही सेग्मेन्टमा राम्रो व्यापार गरिरहेको छ । ट्रायम्फलाई नेपालको चिरपरिचित मोटरसाइकल आयातकर्ता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ल्याएको हो ।
ट्रायम्फको स्पीड ४०० रोयल इनफिल्ड क्लासीक ३५० को प्रतिस्पर्धी हो । यसले कस्तो व्यापार गर्छ । भविष्यमा पनि क्लासिक ३५० को अगाडि टिक्छ वा टिक्दैन त्यो थाहापाउन भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।

