काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्लेयर अफ द टुर्नामेन्ट बनेका छन् ।
अलराउण्डर प्रदर्शन गर्दै लुम्बिनीलाई उपाधि जिताएका पौडेल यस सिजनको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।
प्लेयर अफ द टुर्नामेन्ट बनेका पौडेलले जेको जे फाइभ कार उपहार पाएका छन् । उक्त कार नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स उपलब्ध गराएको हो ।
गत सिजन अंकतालिक अन्तिममा रहेको लुम्बिनीलाई यस वर्ष ट्रफी जिताउन पौडेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १० इनिङस्मा २७६ रन बनाएका छन् ।
उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । सर्वाधिक रन स्कोरर बनेका पौडेलले बजार पल्सर मोटरसाइकल समेत पाए ।
बलिङतर्फ उनले १० विकेट लिए । आज फाइलनमा म्याचमा उनले ह्याट्रिक समेत गरेका थिए ।

त्यस्तै, लुम्बिनीकै शेर मल्ल उत्कृष्ट इमर्जिङ खेलाडी बन्दै बजाज पल्सर मोटरसाइकल पाए । उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।
यस्तो छ कार
१५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील मोटर रहेको जेको जे-फाइभमा ५८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिनेछ ।
जे-फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसको ह्वीलबेस २६२० एमएम लामो छ । ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।
सुरक्षालाई विशेष प्राथमितामा राखेर बनाइएको एसयूभीमा एडास लेभल टु फिचर उपलब्ध छ । जे-फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटीक इमेर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् । इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट पनि उपलब्ध छ ।

मिनिमल डिजाइनमा तयार भएको इन्टेरियर, ड्यासबोर्डमा केही बटम सहितको १३.२ इन्चको ठूलो पोट्र्रेट टचस्क्रिन पाउन सकिन्छ । दुई कलरमा सजिएको लेदर सिटको प्रयोगले निकै आलिसान लाग्ने क्याविन बनेको छ । १.४५ वर्ग मिटर ठूलो प्यानोरोमिक ग्लास रूफले अलग ‘फिल’ दिन्छ ।
जेकोले जे-फाइभमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिएको छ । जसको कारण खराब बाटाहरूमा पनि सहज र आरामदायी ड्राइभिङ अनुभव पाउन सकिन्छ ।
यसमा मल्टी कलर एम्बियन्ट लाइटिङ, डबल-ग्लेज्ड साउन्ड प्रुफ ग्लास, वायरलेस चार्जिङ र पावर-एड्जस्टेबल फ्रन्ट सिट छ । यसमा सामान राख्न ४८० लिटरको बुट स्पेस दिइएको छ । जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिन्छ ।

