काठमाडौं । हाल कतारमा जारी विश्वकप फुटबलले संसारभरका दर्शकको ध्यान तानिरहेको छ । विश्वका ३२ राष्ट्र उपाधि जित्ने लक्ष्यमा साथ मैदानमा उत्रिएका छन् ।
सबै टिमले लिग चरणको पहिलो खेल खेलिसक्दा केही अप्रयासित नतिजा आएका छन् । उपाधिका दाबेदारी मानिएका बलिया देशहरू पराजित भएका छन् ।
यसैक्रममा, गत साता भएको खेलमा विश्वकपको दाबेदारीको रुपमा हेरिएको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना एशियाली देश साउदी अरबसँग पराजित भयो । फिफा र्याङकिङमा ४५ औ स्थानमा रहेको साउदीले अर्जेन्टिनालाई २–० गोल अन्तरले स्तब्ध बनायो ।
साउदी अरबमा भने यो जीतले ठूलो खुसियाली ल्यायो । साउदी सरकारले अर्जेन्टिनालाई हराएको उपलक्षमा १ दिन सार्वजनिक बिदा नै दियो । दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई हराउन सफल टीमका सबै सदस्यलाई साउदी सरकारले कार उपहार दिने समेत घोषणा गरेको छ ।

साउदी खेलाडीले उपहारको रुपामा पाउने कार कुनै सामान्य नभई वेलायती लग्जरी कार कम्पनी रोल्स रोयल्सको कार हो । खेलाडीले रोल्सरोयल्सको पनि सबै भन्दा महँगो मोडल रोल्स रोयल्स फ्यान्टमको सेकेन्ड सिरीजको कार पाउने भएका हुन् । बाँकी अन्य खेलमा जस्तोसुकै नतिजा ल्याएता पनि साउदी युवराज महमद विन सल्मानले आफ्नो राष्ट्रिय खेलाडीहरू कतारबाट फर्कने बित्तिकै सबैलाई रोल्स रोयल्सको फ्यान्तम आफै आएर उपहार दिन घोषणा गरेका हुन् ।
वेलायती लग्जरी कार रोल्सरोयल्सको फ्यान्टम यसै वर्षका सुरूवातमा लन्च भएको थियो । यो कारमा ६.७५ लिटरको नेचुरल्ली एस्परेटेड भी १२ इन्जिन रहेको छ । यो इन्जिनले ५५५ ब्रकहर्स पावर तथा ९०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो कारमा ८ स्पीडको अटोमेटिक ट्रास्मिसन गियर रहेको छ ।
रियर ह्वील ड्राइभ सिस्टम भएको यो कार शून्यबाट १०० किलोमिटरको स्पीड मात्र ५.१ सेकेण्डमा पुग्दछ । यो कारको मूल्य ५ लाख अमेरिकी डलरको हाराहारीमा रहेको छ ।

