एबीएस भएका एफजेड भि थ्री, जिक्सर १५० र पल्सर एनएस १६० मा कुनमा कस्ता विशेषता

काठमाडौं । एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) मोटरसाइकलमा हुने सुरक्षा फिचर हो । एबीएस भएका मोटरसाइकल एक्कै पटक ब्रेक लक भएर दुर्घटनामा पर्ने छैनन् ।

पछिल्ला दिनमा १५० सीसीभन्दा माथिका मोटरसाइकलमा एबीएस फिचर उपलब्ध हुन थालेका छन् । यसरी नेपाली बजारमा कम मूल्यमा उपलब्ध रहेका एबीएस सहितका मोटरसाइकलको जानकारी दिन गइरहेका छौं ।

अहिले यामाहा एफजेड भि थ्री, सुजुकी जिक्सर १५० र बजाज पल्सर एनएस १६० डबल डिस्क ब्रेक र एबीएस सहित नेपाली बजारमा उपलब्ध मोटरसाइकल हुन् ।

यामाहा एफजेड भि थ्रीमा १४९ सीसी, पल्सर एनएसमा १६० सीसी र जिक्सरमा १५५ सीसी क्षमताको इन्जिन दिइएको छ । यी तीन मध्ये एनएस १६० ले सबैभन्दा बढी पावर प्रदान गर्छ । एनएस १६० ले ८५०० आरपीएममा १५.१ बीएच, जिक्सरले १३.९ बीएच र एफजेड भि थ्रीले १३ बीएच पावर प्रदान गर्ने कम्पनीले दाबी गरेका छन् ।

एफजेड भि थ्री र जिक्सरमा एफआई इन्जिन दिइएको छ भने एनएस १६० मा काब्रुरेटर इन्जिन रहेको छ । एनएस १६० र जिक्सरमा १२ लिटर र एफजेड भि थ्रीमा १३ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ ।

पल्सर एनएस १६० र जिक्सरमा वेट मल्टीप्लेट क्लच दिइएको छ भने एफजेड भि थ्रीमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यी तीन वटै मोटरसाइकलमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

चालकलाई सहज यात्रा गर्न सहयोग पुर्याउन तीन वटै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि एफजेड भि थ्री र जिक्सरमा स्वीङआर्म र एनएसमा निट्रोक्स मोनोशक सस्पेन्सन दिइएको छ ।

एफजेड भि थ्री र जिक्सरमा एलइडी हेडलाइट र एनएस १६० मा बल्ब टाइप एमएफआर हेडलाइट दिइएको छ । टेललाइट भने तीनवटै मोटरसाइकलमा एलइडी रहेको छ ।

स्पीडो मिटर र ट्रीप मिटर तीन वटैमा डिजिटल रहेको छ । एफजेड भि थ्री र जिक्सरमा डिजिटल टेकोमिटर दिइएको छ भने एनएस १६० मा एनालग रहेको छ ।

तीनै मोटरसाइकलमा फियुल गज, पिलियन सिट, पिलियन ग्राबरेल, घडी, ट्रीप मिटर काउन्ट, पासलाईट जस्ता समान विशेषता रहेका छन् ।
बजारमा यी तीन मध्ये सबैभन्दा कम मूल्यमा पल्सर एनएस १६० किन्न सकिने छ । एचएच बजाजले बिक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले एफजेड भि थ्रीको मूल्य ३ लाख १८ हजार ९०० र सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले जिक्सर १५० को मूल्य ३ लाख १५ हजार रुपैयाँ तोकेको छ ।


Back_to_top