काठमाडौं । महिन्द्रा स्कर्पियो भारतीय र नेपाली सेनाले खुबै मनपराएको मोडल हो । बल्की डिजाइन, जस्तोसुकै कठिन बाटोमा पनि सहजै चलाउन सकिने बनोट, फोर ह्वील ड्राइभ सिस्टम भएको सबैभन्दा कम मूल्यको एसयूभी र ९ जनासम्मले यात्रा गर्न मिल्ने सिट यसको मुख्य विशेषता हो ।
भारतीय सेनाको लागि तयार पारिएको स्कर्पियो क्लासिकको तस्बिर सार्वजनिक गर्दै महिन्द्रा एण्ड महिन्द्राले आफ्नो सोशल मिडिया पेजमा लेखेको छ, ‘रिइनफोर्सिङ ट्रस्ट’ । कम्पनीले भारतीय सेनासँग एकै पटक १ हजार ८५० यूनिट स्कर्पियो क्लासिकको बुकिङ लिएको हो ।
आर्मीले प्रयोग गर्ने डार्क ग्रिन कलरमा सजिएको स्कर्पियो क्लासिक निकै आकर्षक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको तस्बिरमा नयाँ ट्वीन पीक लोगो प्रयोग गरिएको छैन । तर, नयाँ उत्पादन टुइन पीक लोगोमा नै आउने अनुमान गर्न सकिन्छ ।
नयाँ स्कर्पियो क्लासिकमा अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्ड, उडन फिनिस सहितको सेन्टर कन्सोल पाउन सकिन्छ ।
महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।
स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।

