नयाँ स्कर्पियो डर्ट ट्रयाकमा चलाउँदा…

काठमाडौं । स्कर्पियो उच्चारण गर्न त्यति सहज नाम होइन । तर, नेपालको हरेक कुनामा बसोबास गर्ने र अंग्रेजी नजान्ने मानिसले पनि सहजै उच्चारण गर्ने नाम हो । यसो हुनुको मुख्य कारण स्कर्पियोले दिएको सेवा हो ।

नेता, कर्मचारी, सुरक्षा निकाय, अन्तर्राष्ट्रिय दातृ निकाय, एनजीओ, आइएनजीओको मुख्य रोजाइमा परेकै कारण यसको पहुँच देशका सबै कुना काप्चामा पुगेको मान्न कन्जुसाई गर्नु पर्दैन । साथै, ट्राभल एजेन्सीदेखि स्वरोजगार बन्न चाहनेको रोजाइमा पनि स्कर्पियो पर्दै आयो । त्यसले यसको अलग पहिचान बन्न पुग्यो ।

झण्डै १९ वर्षपछि यसको नामको पछाडि ‘एन’ थपियो । एनको मतलव अहिलेसम्म कम्पनीले खोलेको छैन । तर, धेरै मानिसले एनको अर्थ ‘न्यू’ लगाएका छन् । केहीले एनको अर्थ यसको पावरसँग जोडेर लगाउने गरेका छन् । चाहे जेसुकै अर्थमा एन राखिएको होस् मेरो लागि एनको अर्थ ‘न्यू जर्नी’ हो ।

निरन्तर १९ वर्षसम्म एउटै आकार, प्रकार र साइजमा रहन मन नलागेकै कारण यसले नयाँ यात्रा थालेको हुनुपर्छ । त्यसमा पनि निकै आधुनिक फिचर र बनोटका साथ । महिन्द्राको लागि नेपालको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले स्कर्पियो-एन यहाँ बिक्री सुरु गरिसकेको छ । आफ्नो नयाँ एसयूभी बिक्री सुरु गरेसँगै कर्मचारीको लागि धुलिखेलमा ‘बुट क्याम्प’ आयोजना भएको थियो ।

खराब ट्रयाकमा स्कर्पियो चलाएर यसको पफर्मेन्सको बारे आन्तरिक जानकारी दिन गरिएको कार्यक्रममा मेरोअटोले पनि निम्ता पाएको थियो । यसअघि कालोपत्रे गरिएको ट्रयाकमा गाडी चलाएको अनुभब भएपनि मसँग हिलो र अफरोड ट्रयाकमा गाडी चलाएको अनुभव थिएन । त्यसैले मेरो लागि यो बुट क्याम्प निकै रोमन्चक हुने नै भयो ।

बिग ड्याडी अफ एसयूभी

भारतबाट आएका प्रशिक्षकको सहायतामा अग्नी ग्रुपकै एक जना चालकले सुरुमा स्कर्पियो एन ट्रयाकमा चलाए । प्रशिक्षक गाडीको रफ्तार गर्न पाइन्न, बिस्तारै सबै स्थानबाट बाहिर निस्कन पर्छ भनिरहेका थिए ।

गाडीमा चालक सहित ५ जना बसेर चलाइएको थियो । झण्डै आधा घन्टामा पहिलो पटक गाडीले ५०० मिटरको डर्ट टेम्पलको सर्किट पार गरेको थियो । निकै अल्छी लाग्दो तरिकाले पुरा भएको एक ल्यापले मलाई पनि ड्राइभ गर्दिन भन्ने अवस्थामा पुर्याएको थियो ।

त्यति नै बेला एक जना मित्रले ड्राइभ सकेर आएपछि मलाई पनि चलाउन सल्लाह दिए । ‘निकै रमाइलो फिल हुन्छ, यसलाई नछोड्नुस्’ भन्ने साथीको भनाइपछि मैले गाडी चलाउने निधो गरे ।

न्यूज रुममा बस्ने भएकोले महिन्द्राको स्लोगन ‘बीग ड्याडी अफ एसयूभी’ मलाई कन्ठै थियो । ड्राइभिङ सिटमा बस्नासाथ मैले अर्को सिटमा बसेका मित्रलाई सोधे तपाईले चलाउनु भयो ? एकछिनमा चलाउँछु भन्ने उनको उत्तरपछि मैले सिट बेल्ट बाँधे र गाडीमा बसेका सबैसँग गाडी अगाडि बढाउने अनुमति मागे ।

मेरो अनुभव

हिलो, ठूला खाडल, सार्प टर्न, पम्पिङ र चिप्लो उकालो अधिकांश अफरोड गाडीको क्षमता चेक गर्न बनाइने ट्रयाकमा हुने कुरा हुन् । तर, यहाँ आकाशबाट परेको पानीको कारण ट्रयाक सोचेभन्दा धेरै खतरनाक भइसकेको थियो । त्यसैले यस्तो ट्रयाक हत्तपत्त प्रयोग गर्न पाइने र मिल्ने थिएन । तत्काल ड्राइभ पुरा गरेपछि मैले साथीलाई धन्यवाद भने ।

थ्रिल, फन र रोमान्चकताले भरिएको अफ्ठ्यारो ट्रयाकमा स्कर्पियोको पफर्मेन्स उत्कृष्ट थियो । अष्ट्रेलियाको मर्भूमीमा छिटो कुद्ने एसयूभीको गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएको केहि दिनपछि नेपालको डर्ट ट्रयाकमा चलाउँदा छुट्टै आत्मविश्वास थियो ।

फोर ह्वील हाइमा चलाइएको स्कर्पियो एनको स्टेरिङ यति सफ्ट छ कि तपाईलाई यसले निकै रोमान्चित बनाउने छ । यसलाई लिएर गाडी गुड्न सक्ने तपाई जस्तो सुकै अफरोड बाटोमा जानु भयो भनेपनि निरास बनाउने छैन । यसमा थपिएको सुरुक्षा फिचर, नयाँ डिजाइन र पफर्मेन्सको कारण यसले बजारमा निकै राम्रो प्रभाव पर्न सक्ने देखिन्छ ।


Back_to_top