काठमाडौं । अमेरिकी ईभी कम्पनी टेस्लाले आफ्नो संघाईमा रहेको प्लान्टबाट उत्पादन क्षमता वृद्धि गरेको छ । यसअघिको उत्पादन क्षमता वृद्धि गर्दै टेस्लाले चीनमा ४० सेकेन्डमै एउटा कार उत्पादन गरिरहेको रिपोर्ट बाहिर आएको हो ।
यसअघि संघाईको गिगा प्लान्टबाट प्रत्येक ४५ सेकेन्डमा एउटा इलेक्ट्रीक कार उत्पादन हुन्थ्यो । टेस्लाले अहिले संघाईमा रहेको गिगा फ्याक्ट्रीबाट आफ्नो चर्चित मोडल–३ र मोडल बाईको उत्पादन गरिरहेको छ ।
यसअघि अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले जनवरीमा आफ्नो मिचिगनमा रहेको प्लान्टबाट प्रत्येक ४९ सेकेन्डमा एउटा एफ–१५० पीकअप ट्रक उत्पादन भइरहेको जानकारी दिएको थियो ।
टेस्लाले संघाईको प्लान्टबाट सन् २०२३ को पहिलो ६ महिनामा ५ लाख कार उत्पादन गरिसकेको छ । यो प्लान्टको उत्पादन चीनमा मात्र नभई थाइल्याण्ड, क्यानाडा, अष्ट्रेलिया तथा युरोपियन देशहरुमा निर्यात हुने गरेको छ ।
टेस्लाले उत्पादनको स्पीड बढाउन गिगा कास्टीङ प्रविधिको प्रयोग गरिरहेको छ । यो प्रविधिबाट उत्पादन गर्दा कम्पोनेन्टहरु कम लाग्नुका साथै लागत समेत घटाएको छ ।
टेस्लाले कामदारहरुको समय बचाउन प्लान्ट भित्रै १६ वटा ‘इन हाउस रेष्टुरेन्ट’ पनि संचालन गरिरहेको छ । उक्त रेष्टुरेन्टमा कामदारहरु उपस्थित नभई एपको सहायताले खाना अर्डर गर्न पनि सक्नेछन् ।
अहिले नेपाल पनि टेस्लाले संघाईमा उत्पादन गरेको विद्युतीय कार आउन थालेको छ । निकै आक्रमक बजार बिस्तारको रणनीति बनाएको टेस्लाले चाँडै मेक्सिकोमा प्लान्ट संचालन गर्दैछ । साथै, टेस्ला सीईओ इलन मस्कको चाहना भारतमा पनि टेस्लाको प्लान्ट स्थापना गर्ने रहेको छ ।

