भारतको सेप्टेम्बर विक्रीमा टाटा नेक्सनले उछिन्यो भेन्यूलाई, ब्रेजा निकै पछाडि

काठमाडौं । भारतमा कार उत्पादनमा व्यापक कटाैती भएसँगै टाटा नेक्सन सेप्टेम्बरमा सर्वाधिक उत्पादन र विक्री हुने सब फोर मिटर एसयूभी भएको छ ।

टाटा नेक्सनले ग्लोवल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएदेखि नै विक्री बढ्दै गएको थियो । नेक्सनले सेप्टेम्बर महिनामा आफ्ना प्रतिस्पर्धी मोडललाई उछिनेर पहिलो स्थान कब्जा गरेको हो ।

सब फोर मिटर सेग्मेन्टमा हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, मारुती सुजुकी ब्रेजा, रेनो काइगर, निसान म्याग्नाइट जस्ता मोडल अहिले विक्री वितरण भइरहेका छन् । सेप्टेम्बरमा फोर्ड इकोस्पोर्टको विक्री सून्य छ । टाटाले ९ हजार २११ यूनिट नेक्सन विक्री गरेर पहिलो स्थान कब्जा गरेको हो भने, दोस्रो स्थानमा ७ हजार ९२४ यूनिट सहित हुन्डाई भेन्यू रहेको छ ।

तेस्रो स्थानमा किया सोनेट रहेको छ । सोनेटको विक्री ४ हजार ४५४ यूनिट, चौथो स्थानमा महिन्द्रा एक्सयूभी ३०० रहेको छ । महिन्द्राले ३ हजार ६९३ यूनिट एक्सयूभी ३०० विक्री गरेको हो ।

सूचीको ५ औं स्थानमा निसान म्याग्नाइट र छैटौं स्थानमा रेनो काइगर रहेका छन् । यी दुबै मोडलको विक्री क्रमशः २ हजार ३३० र २ हजार ३१२ यूनिट रहेको छ ।

मारुती सुजुकी ब्रेजाको उत्पादन र विक्रीमा व्यापक गिरावट आएको छ । सेप्टेम्बर महिनामा १ हजार ८७४ यूनिट मात्रै ब्रेजा विक्री भएको तथ्यांक सार्वजनिक भएको छ ।


Back_to_top