काठमाडौं । कियाको सफल सव फोर मिटर एसयूभी सोनेट दशैंअघि किन्न चाहने नपाउने भएका छन् । बजारमा सोनेटको माग उच्च रहेपनि सप्लाई समस्याको कारण गाडी किन्न चाहने ग्राहक निरास बनेका हुन् ।
कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङका अनुसार दशैंअघि नेपाल ल्याउन अर्डर गरेको गाडी आउन सकेन । विशेषत सेमी कन्डक्टरको समस्याको कारण उत्पादन घट्दा गाडी सप्लाईमा समस्या आएको हो ।
‘हामीले राम्रो संख्यामा सोनेट माग गरेका थियौं । तर, दशैंअघि सोनेट आउन सकेन । सेल्टोस भने आएको छ’, कन्टिनेन्टल ट्रेडिङका डिजीएम अनिश लामिछानेले मेरोअटोसँग भने ।
लामिछानेका अनुसार धेरै गाडी बुकिङ गरेर बसेका ग्राहकलाई दशैंअघि गाडी दिन सक्ने अवस्था छैन । अहिले आफुसँग जुन मोडल छ, त्यसैलाई विक्री गरेर बस्नु पर्ने अवस्था सृजना भएको छ ।
किया सोनेट आफ्नो सेग्मेन्टमा छोटो समयमा स्थापित भएको मोडल हो । कम्पनीले सोनेटको विभिन्न ४ भेरियन्ट उपलब्ध गराउँदै आएको थियो । कम्पनीले दशैंको अवसर पारेर नयाँ अटोमेटीक भेरियन्ट नेपालमा सार्वजनिक पनि गरेको थियो ।
‘हामीले ग्राहकलाई उत्कृष्ट अफरसहित नयाँ अटोमेटीक सोनेट दिने घोषणा गरेका थियौं । निकै राम्रो बुकिङ पनि आएको छ । तर, दशैंमा गाडी दिन सक्ने अवस्था छैन । अब दशैंपछि ल्याउन प्रयास भइरहेको छ’, लामिछानेले भने ।
किया सोनेटको इन्ट्री भेरियन्ट एचटीइ पेट्रोल निकै धेरै विक्री हुने भेरियन्ट हो । कम्पनीले यसलाई ३५ लाख ९० हजार मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ । साथै, सोनेटको सबैभन्दा टप भेरियन्ट जिटीएक्स प्लस (डिजेल) हो । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
कम्पनीले विक्री गर्ने एचटीइ भेरियन्ट किन्न चाहने ग्राहकले मासिक २९ हजार हाराहारी किस्ता तिर्नेगरी खरिद गर्न सक्ने छन् । अहिले बजारमा व्याजदर बढेर ९ प्रतिशत हाराहारी पुगेको छ भने ७ वर्षको लागि व्यक्तिले कर्जा सुविधा पाउने छन् ।
कियाले आफ्ना सबै गाडीमा ‘नो डिस्काउन्ट’ पोलिसी लिएको छ । त्यसैले कम्पनीले दशैं तिहार जस्ता चाडपर्व केन्द्रित भएर कुनै स्कीम संचालन गरेको छैन ।


