तिहारपछि नेपाल आउछन् कम मूल्यका दुई नयाँ मोडल

काठमाडौं । मूल्यका हिसावले सबैभन्दा कम मूल्यको कारलाई नै २० लाख तिर्नु पर्ने अवस्था आइसकेको छ । सरकारी करको कारण नेपालमा सस्तो कारको मूल्य नै २० लाख पर्छ । यस्तोमा ३० लाखभन्दा कम मूल्यका दुई नयाँ मोडल तिहारपछि नेपाल आउने छन् ।

टाटा पन्च र मारुती सुजुकी नयाँ जेनेरेशन सेलेरियो नेपाल आउने दुई मोडल हुन् । भारतमा यी दुबै कार यही अक्टोबरबाट विक्री सुरु हुँदैछन् । मारुती सुजुकी सेलेरियो यसअघि पनि नेपालमा विक्री हुँदै आएको कार हो भने टाटा पन्च अल न्यू मोडल हो ।

टाटा पन्च अहिले चर्चाको शिखरमा छ । माइक्रो एसयूभी साइज र सब फोर मिटर एसयूभीको फिचर उपलब्ध रहेको कारण पन्च निकै सफल हुने अनुमान गरिएको छ ।

यी दुबै कारमा १.२ लिटर इन्जिन उपलब्ध हुने बताइएको छ । मारुती सुजुकीले सेलेरियोमा यसअघि १.० लिटर इन्जिन दिएको थियो । तर, नयाँ जेनेरेशन मोडलमा स्वीफ्टमा प्रयोग भएको १.२ लिटर इन्जिन उपलब्ध हुने अनुमान गरिएको छ ।

पहिलेको तुलनामा फरक डिजाइन, ठूलो साइज र पावर फुल इन्जिनको प्रयोग हुने भएकोले सेलेरियोले सफलता पाउने अनुमान गरिएको छ । त्यस्तै एसयूभी खोज्ने ग्राहकलाई आकर्षित गर्न टाटा पन्च सफल हुने देखिन्छ ।

मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटो कर्पले अहिले सेलेरियो खोज्न जाने ग्राहकलाई कार्तिक अन्तिमसम्ममा आउन सक्ने बताइरहेको छ । यसबाट पनि तिहार लगत्तै सेलेरियो नेपाल आउने अनुमान गर्न सकिन्छ ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले भने पन्चको विषयमा कुनै जानकारी दिएको छैन । यद्यपी भारतमा विक्री सुरु भएपछि सबै मोडल नेपाल ल्याउने गरेकोले पन्चपनि चाँडै नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top