काठमाडौं । कोभिड १९ को चर्को चपेटामा परेको भारतमा सेप्टेम्बर महिनामा रेकर्ड कार बिक्री भएको तथ्यांक बाहिर आएको छ । यस अवधिमा ठूला कार निर्माताको बिक्रीमा उछाल आएको छ ।
चाडपर्वको समय नजिकिएसँगै कारको माग उच्चरुपमा बढेको कम्पनीहरुको बिक्री तथ्यांकले देखाएको छ । कम्पनीहरुले सेप्टेम्बर महिनामा २ लाख ९२ हजार ८८३ यूनिट कार बिक्री गरेका छन् । अघिल्लो वर्षको सेप्टेम्बर महिनाको तुलनामा यो ३१.४ प्रतिशतले बढी हो ।
यसरी बढेको बिक्रीमा सर्वाधिक बिक्री भएका टप १० कारको सूची प्रकाशन भएको छ ।
सेप्टेम्बरमा सर्वाधिक बिक्री भएका १० कारको सूचीमा मारुती सुजुकीका ७ र हुन्डाईका ३ कार पर्न सफल भएका छन् । यस अवधिमा सर्वाधिक बिक्री भएको कारको सूचीमा मारुती स्वीफ्ट परेको छ । सेप्टेम्बरमा स्वीफ्ट २२ हजार ६४३ यूनिट फ्याक्ट्रीबाट डिलरकोमा पठाइएको छ । त्यस्तै दोस्रो स्थानमा मारुती बलेनो परेको छ । एक महिनाको अवधिमा बलेनो १९ हजार ४३३ यूनिट, मारुती अल्टो १८ हजार २४६ यूनिट सहित तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरि सूचीको चौथो स्थानमा वागेनआर परेको छ । एक महिनामा वागेनआर १७ हजार ५८१ यूनिट बिक्री भएको छ । पाँचौ स्थानमा पनि मारुती सुजुकी डिजायर परेको छ । डिजायर १३ हजार ९८८ यूनिट सहित पाँचौ स्थानमा परेको हो ।
सूचीको छैटौँ स्थानमा हुन्डाई अल न्यू क्रेटा परेको छ । हुन्डाईको यस चर्चित एसयूभी एक महिनामा १२ हजार ३२५ यूनिट बिक्री भएको छ । ७ औँ स्थानमा मारुती सुजुकी इको भ्यान परेको छ । सेप्टेम्बरमा इको भ्यान ११ हजार २२० यूनिट बिक्री भएको छ । सूचीको ८औँ स्थानमा हुन्डाई ग्राण्ड आई १० नियोस पर्न सफल भएको छ । यसअवधिमा नियो १० हजार ३७३ यूनिट बिक्री भएको छ । नवौँ स्थानमा मारुती एर्टिगा परेको छ । यस अवधिमा एर्टिगा ९ हजार ९८२ र दशौँ स्थानमा परेको हुन्डाईको इलाइट आई २० ९ हजार ८५२ यूनिट बिक्री भएको छ ।


